देवराम यादव
सप्तरी, कात्तिक १२ गते । सप्तरीको कठौना-पातो सडकखण्ड अन्तर्गत डाक्नेश्वरी नगरपालिका ५ स्थित अमरलती र ७ वडास्थित मझौरा चोकमा बुधबार सडक निर्माणको माग गर्दै यातायात अवरुद्ध गरिएको छ । अमरलती चोक व्यवस्थापन समितिको अगुवाइमा स्थानीयबासी तथा व्यवसायीद्वारा सडक अवरुद्ध गरेको हो ।
विगतका वर्षदेखि निर्माण कार्यको लागि सडक खनेर अलपत्र छाडेर सुस्त गतिमा गरिरहेकोले सडक निर्माण कार्य अविलम्ब सक्नुपर्ने दवाव स्वरुप सडक आन्दोलनमा उत्रिएको स्थानीय विजयकुमार चौधरीले बताउनुभयो । उहाँले १ महिना भित्र सडक कालोपत्रे गर्ने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।
१५ वर्ष अगाडिदेखि सडक खनेर अलपत्र छोड्दा दुर्घटना बढेको तथा धुलोले स्वास्थ्य समस्या जटिल पारी पर्यावरण दुषित हुँदा समेत निर्माण कम्पनी र सरकारले सडक निर्माणमा चासो नदिएको व्यवस्थापन समितिका अध्यक्ष दिकु यादवले बताउनुभयो । उहाँले निर्माण कम्पनी तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि संघर्षमा उत्रिन बाध्य भएको बताउनुभयो ।
स्थानीयबासीले विहान साढे १० बजे देखि सुरु गरेको आन्दोलनका कारण उक्त सडकबाट चल्ने सम्पूर्ण सवारी साधन ठप्प भएको छ । सडकमा टायर बालेर र डेक्सबेन्च तेर्साएर गरिएको सडक जाम हालसम्म जारी रहेको स्थानीयले बताएका छन् ।
कठौना–पातो सडक निर्माण कार्य १५ बर्षभन्दा बढीदेखि हुँदा समेत अझै कालोपत्रेसहितका निर्माण कार्यले पूर्णता पाएको छैन । सडक निर्माणमा ढिलासुस्तीले उक्त सडक भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरुले ठूलो सास्ती खेप्नुपरेको छ ।