• ११ मंसिर २०८१, मङ्गलबार

मुख स्वास्थ्यमा अपनाउनुपर्ने सावधानी

blog

दाँत झरेर नै जाने हो भन्ने भ्रम अधिकांशमा छ । आधारभूत र गुणस्तरीय मुख स्वास्थ्य सेवा नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा छ । अधिकांश मुखका रोग र समस्याबाट ग्रसित छन् । दाँत दुखेपछि मात्र उपचार गर्छु भन्दा धेरै ढिलो भइसक्ने भएकाले बढी दुखाइ–पीडा सहनुपर्ने, धेरै पैसा खर्च हुने, समय लाग्ने मात्र नभई दाँत नै नजोगिन सक्छ । विश्वमै सबैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालीन प्रकृतिका रोगमा मुखमा पाइने रोग पर्छन् । यी रोगले पैदा गर्ने दुखाइ, असहजता, कुरूपपना र कहिलेकाहीँ हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आर्थिक भार थप्दछ । 

रोग तथा समस्याको मात्रा, तथ्याङ्क र विभिन्न खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या बढी छ । गाउँघरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग प्रमुख रूपमा रहेको छ भने सहर बजारमा दाँत कीराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्र पर्दछन् । दन्त स्वास्थ्यका प्रमुख रोगमा दन्त सड्न, दन्तहर्षा, पाइरिया, दाँत सिरिङसिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरङ्गी दाँत, नमिलेका दाँत, मुखमा घाउखटिरा र मुखमा विभिन्न रङ तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यी सामान्य रोगबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे तथा थोेते भएको पनि त्यतिकै भेटिन्छन् । 

प्रकोपको कुरा गर्दा दन्तसड्नको मात्र उपचार एकै पटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको १० गुणा लाग्न सक्ने अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको अन्तर्राष्ट्रिय विज्ञप्तिअनुसार विश्वका सात अर्ब जनसङ्ख्यामध्ये छ अर्ब ७५ करोड दाँतको रोगबाट पीडित छन् । विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका बालबालिका ९० प्रतिशत बढी दन्तरोगी छन् । अन्य रोगको तुलनामा दाँत एवं मुखको रोगलाई गम्भीर रूपमा नलिने प्रवृत्ति छ । 

सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यका रूपमा नलिई विलासिता उपचारका रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दात तथा मुखका रोगबाट मानिसको तत्कालै इहलीला समाप्त भएको देखिँदैन । त्यस्तै प्रायःजसो दाँत र मुखमा लाग्ने रोगले लगातार दुःख दिने समस्याका रूपमा नभई बीच बीचमा मात्र बल्झिने प्रकृतिका हुन्छन् । अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारणले दुखाइ बढेपछि र यो रोगले जटिलता निम्त्याएपछि मात्र स्वास्थ्य संस्थाको ढोका ढकढकाउने वा चिकित्सककहाँ पुग्ने गर्छन् । परिणामतः रोग निको हुन लामो समय लाग्ने, कठिन प्रक्रिया अपनाउनुपर्ने भएकाले दन्त्य उपचार सबैलाई महँगो लागिरहेको छ । 

शरीरको ऐना तथा ढोका

मुख सानो अङ्ग भए पनि महìवको आधारमा ज्यादै ठूलो अङ्ग हो । किनभने मुख शरीरको प्रवेशद्वार हो । स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो । त्यस्तै मुखका अङ्ग–प्रत्यङ्ग र दाँतमा देखिने रोगहरू मुखसँगै मात्र सम्बन्धित नहुन सक्छन् । मुखलाई शरीरको ऐना भन्ने गरिन्छ । दादुरा आउनुभन्दा दुई–चार दिन पहिले मुखमा कप्लिक स्पट, एचआईभी÷एड्समा सबैभन्दा पहिले मुखमा कापोसिस सरेकोमा, कलेजोको रोगमा गिजाबाट रगत आउने, मुखबाट बिग्रेको अण्डाको गन्ध आउने हुन्छ । दन्तलेउमा भएको ३६५ भन्दा बढी प्रकारमध्ये दर्जनाँै ब्याक्टेरियाले गिजाको रोग निम्त्याउँछ । अस्वस्थ गिजामा पनि यस्ता ब्याक्टेरिया हुन्छन् । गिजामा भएको रक्तनलीहरूमार्फत ब्याक्टेरियाहरू शरीरभरि पुग्छन् । केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाई क्लट बनाउँछन् । उक्त क्लटले सानो भए विभिन्न अङ्गलाई रगत पु¥याउनमा कमी र क्लट ठूलो भए आघात नै बनाउन सक्छ । यस्तो घटना मुटुको नलीमा भए हृदयाघात, दिमागको रक्तनलीमा भए स्ट्रोक र पक्षघात, मिर्गौलाका रक्तनलीमा भए मिर्गौला फेल हुनसक्छ ।

समयमै ध्यान दिऊँ

 दाँत तथा मुखका सामान्य रोग तथा समस्याको जति ढिलो उपचार भयो, त्यति नै उपचारको प्रक्रिया लामो, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि हुने गर्छ । दाँत कीराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस सङ्क्रमण भएपछि खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मृत्यु हुनसक्छ । सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुनसक्छ । त्यसैगरी गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग–निमोनिया, दम, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । 

गर्भवती महिलामा दाँत तथा मुखको समस्या भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चाको जन्म हुने सम्भावना रहन्छ । धरिला, नमिलेका दाँत, लामोे समयसम्मको घाउखटिरा, रोग, फोेहोर साथै सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर पनि हुने गर्दछ । अस्ट्रेलियाको एक खोजमा दाँत र गिजाको स्वास्थ्यमा ध्यान नदिँदा ढिलो गर्भाधारण हुने बाँझोपनालगायत अनेकन प्रजनन स्वास्थ्यमा असर परेको छ । 

रोकथाम

रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु अति नै उत्तम तथा उचित हुन्छ । त्यसकारण दाँत एवं मुखको सरसफाइ, खानेकुरामा नियन्त्रण र नियमित दन्त परीक्षण व्यवहारतः अपनाउनै पर्छ । मुख पनि हाम्रो शरीरको हातजस्तै व्यस्त अङ्ग हो । खाना खानुअघि र पछि हात–मुख धुनु जति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्ति नै अनिवार्य छ । टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारी प्रयोग नगरौँ । भिटामिन ‘बी’ र ‘सी’ पाइने टमाटर, अमला, कागती, सुन्तला, अकुराउँदै गरेका अन्नबाली, मुला, गाजर, बन्दागोबी, सकरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौँ । रेसादार, ताजा फलपूmल, दूध, माछाजस्ता सन्तुलित खाना प्रयोग गर्नुपर्छ । 

छ–छ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ । बालक जन्मेदेखि दन्त परीक्षण गराउन सुरु गर्नुपर्छ र त्यसपछि नियमित रूपमा दन्त परीक्षण गराउने बानी बसाल्नुपर्छ । समयमै सचेत भई बिहान खाना खाइसकेपछि तीन मिनेट र बेलुका सुत्नु अगाडि तीन मिनेट नरम ब्रस र केराउको दानाजति फ्लोराइड भएको मञ्जनले तल माथि गरी दाँत, जिब्रो तथा मुखको सरसफाइमा दिन सक्यौँ भने करिब ९० प्रतिशत मुखका रोगबाट 

मुक्त हुन सकिन्छ । दाँत तथा मुख स्वास्थ्यका बारेमा भ्रम, चेतना अभाव र अन्धविश्वास व्यापक रहेकाले यस्ता चुनौतीलाई चिर्दै नीति निर्मातालाई झक्झकाउन आवश्यक छ । मुख स्वस्थ नहुने मान्छे शारीरिक रूपमा पूर्ण स्वस्थ हुन सक्दैन । सामाजिक रूपमा आत्मविश्वासी पनि हुन सक्दैन र उसको गुणस्तरीय जीवनयापनमा ह्रास आइरहेको हुन्छ । हिजो जेजस्तो भए पनि अब हामी मुख स्वास्थ्यबारे जानकार हुनैपर्छ र रोग तथा समस्याबाट मुक्ति पाउने बाटोतिर अगाडि बढ्नुपर्छ । दाँत तथा मुखका समस्या तथा रोगको रोकथाम धेरै हदसम्म प्रतिरोधात्मक पद्धति, जीवनशैली र जनचेतना फैलाएर गर्न सकिन्छ ।

लेखक दन्तरोग विशेषज्ञ हुनुहुन्छ ।