• १६ चैत २०८०, शुक्रबार

मेलम्चीको विकल्प

blog

काकाकुल काठमाडौंँको तृष्णा मेटाउन मेलम्ची खानेपानी आयोजनालाई उपयुक्त विकल्पका रूपमा लिइए पनि यो समस्या समाधानको सबै विकल्प होइन । मेलम्ची क्षेत्रको भौगोलिक बनावट कमजोर देखियो । आयोजना सञ्चालनमा नआउँदै ठूलै समस्या देखियो । त्यसैले मेलम्ची मात्रले काठमाडौँ उपत्यकाको मागअनुरूप खानेपानीको आपूर्तिमा समस्या समाधान कठिन हुने देखिएको छ । प्राकृतिक कारणले कुनै पनि बेला पानीको सुरुङ बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ । यस्तै अनेक कारणलाई दृष्टिगत  गर्दै यसको स्थायी तथा भरपर्दो विकल्प खोजिनु निकै महŒवपूर्ण पक्ष मान्न सकिन्छ । यसबाट मात्र काठमाडौँ उपत्यकावासीको खानेपानी समस्याको स्थायी तथा दिगो समाधान हुने तथ्य देखिन्छ । 

सरकारले उपत्यकालाई सहज तवरले खानेपानीको दिगो आपूर्तिका निम्ति मेलम्ची खानेपानीको विकल्पका रूपमा अन्य विभिन्न परियोजनाका सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेका समाचार सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा सरकारले काठमाडाँैं उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्तिको सुनिश्चितता गर्न मकवानपुर जिल्लाको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको योजना बनाएको छ । उपत्यकामा खानेपानी आपूर्तिका निम्ति यी विकल्पहरू उपयुक्त हुने विश्वाससहित तिनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्य अगाडि बढ्नु निश्चित रूपमा खुसीको विषय हो । ती खोलाबाट पानी आपूर्ति गर्न त्यति सहज भने पक्कै पनि छैन । कुलेखानी नजिकको सिस्नेरी खोलाको पानीलाई करिब दुई सय मिटरमाथि पम्प गरेर त्यहाँ जलाशय निर्माण गरी भण्डारण गर्नुपर्ने अवस्था छ । अनि मात्र सो पानीलाई १९ किलोमिटर पाइप लाइनमार्फत ललितपुरको भैँसेपाटी खानेपानी केन्द्रमा खसालिएपछि उपत्यकामा वितरण सम्भव हुने देखिन्छ । वर्षा याममा दैनिक १५ करोड लिटर पानीको आपूर्ति हुने यस महत्वाकाङ्क्षी परियोजनाको लागत पनि निकै उच्च रहेको छ । करिब  २६ अर्ब रुपियाँ अनुमानित लागत देखिएको छ । नेपालका निम्ति यो सानो रकम होइन । 

 भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित महादेव खोलामा पनि कम्तीमा ४० मिटर अग्लो जलाशय निर्माणपश्चात् मात्र काठमाडौँमा खानेपानी आपूर्ति हुने सम्भव देखिएको छ । यसको खोलाको पानी विशेषगरी हिउँद याममा आपूर्तिका लागि जोहो गरिने योजना रहेको छ । यी दुवै आयोजनाको लागत बढी देखिए पनि राम्रा विकल्पका आयोजना भने पक्कै हुन् । वर्तमान अवस्थाको विश्लेषण गर्दा काठमाडौंँका निम्ति मेलम्चीको खानेपानीको भर मात्र पर्न सकिने अवस्था नभएको सबैलाई ज्ञात भएकै विषय हो । पानी वितरणको दुई वर्षको अवधि पुगिसक्दा पनि मेलम्चीको पानी आपूर्तिको सुनिश्चितता अझै पनि देखिएको अवस्था छैन । काठमाडौँकै चक्रपथबाहिर पानी वितरणका लागि पाइप विछ्याउने कार्यसमेत भएको देखिँदैन भने चक्रपथभित्र पनि पानी आपूर्ति भरपर्दो रूपमा  हुन सकिरहेको छैन । आपूर्तिमा समस्या, कम परिमाण तथा जुनसुकै बेला पनि प्राकृतिक प्रकोपका कारण समस्या पर्न सक्ने अवस्था विद्यमान भएकाले मेलम्चीको विकल्पका रूपमा अन्य परियोजना अगाडि बढाइनु सकारात्मक पक्षका रूपमा लिइनु पर्छ । 

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा खानेपानीको सहज आपूर्ति वर्तमानमा मात्र नभई भविष्यमा समेत मुख्य चिन्ता र चासोको विषय हो । आजै योजना बनाई कार्यान्वयनमा नल्याए भावी दिन झनै कष्टकर हुने छन् । यसका समाधानका निम्ति गरिएका प्रयासको तदारुकताका साथ कार्यान्वयन गरिनु पनि त्यत्तिकै जरुरी हुन आउँछ । दशकौँको अवधि लगाएर निर्माण गरिएको मेलम्चीबाट काठमाडौँको खानेपानी आवश्यकता प्रभावकारी रूपमा परिपूर्ति हुन नसकेको मात्र होइन, अर्बौंको लागतमा बजेट वृद्धि भएको छ । भ्रष्टाचार, कमिसनका विभिन्न घटनासमेत कारण हुन सक्छ, लागत असाध्यै उच्च भएको छ । मेलम्ची प्रकरणबाटै पाठ सिकेर मकवानपुरको सिस्नेरी खोला, भक्तपुरको महादेव खोलाका परियोजनालाई अगाडि बढाउनु सम्बद्ध पक्षको दायित्वका रूपमा लिनु पर्छ । अर्बौं रुपियाँको लागत निर्माण रहेका यी परियोजनाको निर्माण वित्तीय व्यवस्थापन आदि कारणले सोचेअनुरूप पक्कै पनि सहज देखिँदैन । मेलम्चीका धेरै प्रसङ्गले सरकारलाई सुझबुझ तवरले अगाडि बढ्न सहयोगी भूमिका खेल्नेमा दुईमत देखिँदैन । मेलम्ची परियोजनालाई मार्गदर्शनका रूपमा ग्रहण गर्न सकिएमा पछिल्ला यी दुई परियोजनाको कार्यान्वयन निकै सहज तथा मितव्ययी हुने तथ्यमा शङ्का छैन ।