- आमजनताविरुद्ध डरत्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया आतङ्कवाद हो ।
- नेपाल आतङ्कवादी गतिविधिमा आफ्नो भूमि प्रयोग हुन नदिन सचेत छ र थप सचेत हुन आवश्यक छ तर खुला सिमानाका कारण जुनसुकै बेला पनि अवाञ्छित गतिविधि हुन सक्ने चुनौती नेपालका सामु छ ।
- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्रका हैसियतले पनि नेपालले भारत र पाकिस्तानबिच पछिल्लो समय देखिएको विवाद निरूपण तथा यस क्षेत्रमा आउन सक्ने सम्भावित खतरा टार्न पहल गर्नु पर्छ ।
आतङ्कवाद विश्वकै लागि चुनौती बनेको छ । आमजनताविरुद्ध डरत्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया आतङ्कवाद हो । यो शब्द विशेष गरी शान्तिकालमा वा युद्धको सन्दर्भमा गैरलडाकू (प्रत्यक्ष रूपमा भाग नलिएका नागरिक) मा जानाजानी हिंसा गर्नलाई जनाउन प्रयोग हुन्छ । डर र भय सिर्जना गर्ने उद्देश्य र यसको प्रभावको विस्तार, जुन केवल प्रत्यक्ष पीडितमा सीमित हुँदैन । आतङ्कवादीले डरलाई रणनीतिक उपकरणका रूपमा प्रयोग गरी निर्णयकर्तालाई प्रभावित पार्ने प्रयास गर्छन् । उनीहरूले सार्वजनिक भिड भएका क्षेत्र अस्पताल, विद्यालय, यातायात केन्द्र, विमानस्थल, किनमेल केन्द्र, पर्यटक स्थल र रात्रि जीवनका स्थल लक्षित गरेर व्यापक असुरक्षा सिर्जना गर्न खोज्छन् । यसले मानसिक दबाबमार्फत नीति परिवर्तन गराउने प्रयास गर्छ । सुरक्षा उपायमा जनविश्वास कमजोर पार्ने गर्छ । सोमबार राति भारतको राजधानी नयाँदिल्लीस्थित लालकिल्लामा कार बम विस्फोट गराउँदा १३ जनाको ज्यान जानुका साथै केही घाइते भए । त्यस्तै मङ्गलबार दिउँसो पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अस्पतालपरिसरमा आत्मघाती बम विस्फोट गराउँदा १२ जना मारिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको कार बम विस्फोटको घटनामा संलग्न षड्यन्त्रकारीलाई नछाडिने बताउनुभएको छ । उहाँले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
यो घटना कसरी भयो र कसले गरायो भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन । घटनामा प्रहरीले शङ्कास्पद चार जनालाई नियन्त्रणमा लिएको छ । घटनापछि ऐतिहासिक र पुरातात्त्विक महत्व भएको लालकिल्ला तीन दिन बन्द गरी खोज तथा अनुसन्धानलाई तीव्र पारिएको छ । उता पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालतबाहिर मङ्गलबार गराइएको आत्मघाती विस्फोटमा कम्तीमा १२ को मृत्यु हुनुका साथै २७ जना घाइते भए । आक्रमणकारी न्यायिकपरिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि अन्ततः परिसरबाहिर प्रहरीको गाडीमा आक्रमण गरेको खुल्न आएको छ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आतङ्कवादी आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतको राजधानी दिल्लीस्थित ऐतिहासिक स्थल लालकिल्लाअगाडि भएको बम विस्फोटको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले उक्त विस्फोटबाट आफू स्तब्ध र मर्माहत भएको भन्दै भारतका प्रधानमन्त्री मोदीलाई शोक सन्देश पठाउनुभएको छ । उहाँले उक्त विस्फोटबाट निधन भएकाको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्नुभएको छ । भारत सरकार र त्यहाँका जनताप्रति आइपरेको यस दुःखको घडीमा नेपाल सरकार सदैव भारतसँग ऐक्यबद्धताका साथ उभिएको उहाँले प्रस्ट पार्नुभएको छ ।
विश्वभर समस्याका रूपमा देखिएको आतङ्कवादी गतिविधि दक्षिण एसियाली क्षेत्रमा बढ्नु थप चिन्ताको विषय बनेको छ । आतङ्कवादी गतिविधिमा नेपालको भूमि प्रयोग हुन नदिनेतर्फ सबै खालका प्रयास र पहललाई थप प्रभावकारी बनाउनुपर्ने भएको छ । नेपाल सरकार सबै खाले आतङ्कवादी गतिविधिको विरोधमा छ । नेपाल आतङ्कवादी गतिविधिमा आफ्नो भूमि प्रयोग हुन नदिन सचेत छ र थप सचेत हुन आवश्यक छ तर खुला सिमानाका कारण जुनसुकै बेला पनि अवाञ्छित गतिविधि हुन सक्ने चुनौती नेपालका सामु छ । ती समस्याको निवारणका लागि आन्तरिक तथा बाह्य दुवै पहल गरिनुपर्ने अवस्था छ । आतङ्कवादी समस्याबाट बढी पीडित भारत र पाकिस्तानबिच विवाद होइन संवाद आवश्यक छ । दुवै मुलुक मिलेर आतङ्कवादी गतिविधिविरुद्ध कडा कदम चाल्नु पर्छ । नेपाल भूराजनीतिक रूपले संवेदनशील स्थानमा रहेकाले आतङ्कवाद नियन्त्रणका लागि नेपालको थप प्रयास आवश्यक छ । नेपालको सिमाना एकातर्फ चीनको संवेदनशील क्षेत्र तिब्बतसँग जोडिएको छ भने अर्कोतर्फ भारतसँग खुला सिमाना छ । यस अर्थमा पनि हामी भूराजनीतिक ढङ्गले बढी संवेदनशील क्षेत्रमा छौँ । नेपालले आतङ्कवादविरुद्ध सधैँ आफ्नो स्पष्ट धारणा राख्दै आएको छ । यद्यपि यसको सम्बन्ध भूगोल, सीमा, धर्म, राजनीतिक अतिवाद जस्ता जुनसुकै कुरामा जोडिएको हुन सक्ने भएकाले बढी चनाखो हुनु पर्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्रका हैसियतले पनि नेपालले भारत र पाकिस्तानबिच पछिल्लो समय देखिएको विवाद निरूपण तथा यस क्षेत्रमा आउन सक्ने सम्भावित खतरा टार्न पहल गर्नु पर्छ । आतङ्कवादी गतिविधि नियन्त्रण सामूहिक जिम्मेवारी हो । एक पक्षको प्रयासले मात्र आतङ्कवाद निर्मूल गर्न सकिँदैन । राजनीतिक अस्थिरता, सीमा विवाद, धार्मिक कट्टरवाद, आर्थिक असमानता जस्ता कारणले आतङ्कवाद नियन्त्रणमा चुनौती थपिएको कुरामा विमति छैन ।