• २ मंसिर २०८२, मङ्गलबार

निर्वाचनमा दलीय उत्साह

blog

  • दल दर्ता वैधानिक प्रक्रिया हो । निवेदन दिएका दलको आयोगले विधि, प्रक्रिया र कागजात हेरिरहेको छ । 
  • राजनीतिक दल केवल संस्था दर्ता मात्र होइन, विचार र सिद्धान्तको प्रतिस्पर्धा पनि हो । दलमा देश र जनताप्रति स्पष्ट दृष्टिकोण हुनु पर्छ ।
  • जनताले मतदानबाट आफ्ना विधायक छान्छन् । विधायकले कार्यकारी छान्ने संवैधानिक प्रक्रिया छ । 

नवपुस्ता अर्थात् जेनजी विद्रोहले नेपाली राजनीतिलाई जनकेन्द्रित बनाएको छ । गत भदौ २३ र २४ को विद्रोह ऐतिहासिक छ । कुशासन विद्रोहको मूल कारण बन्यो । विद्रोह सरकारी सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितताविरुद्ध थियो । भ्रष्टाचार न्यूनीकरण हुन सकेन । सामाजिक सञ्जाल बन्द गरी नागरिकको मुख थुन्ने दुष्प्रयास नाजायज थियो । सुशासन, भ्रष्टाचारमुक्त समाज र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहितको जेनजी आन्दोलनले तत्कालीन सरकार विस्थापित भयो । संविधानभित्रैबाट नयाँ अन्तरिम सरकार बन्यो र त्यसले पहिलो दिनबाटै चुनावको तयारी थाल्यो । आगामी फागनु २१ गते ताजा जनादेशका निम्ति प्रतिनिधि सभाको निर्वाचन घोषणा भयो । निर्वाचन आयोग क्रियाशील हुन थाल्यो । नवपुस्ताको सहभागिता सुनिश्चित गर्न कानुनी बन्दोबस्त गरी मतदाता नामावली सङ्कलन गरिँदै छ । निर्वाचनकेन्द्रित सुरक्षा बन्दोबस्त मिलाइँदै छ । आइतबार मात्रै निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि अब निर्वाचनप्रति गरिने शङ्का उपशङ्काको बादल हट्दै गएको छ । तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । उम्मेदवारी दर्तासहितको कार्यतालिकाले अब राजनीतिक दललाई निर्वाचनकेन्द्रित गतिविधिका लागि मार्ग प्रशस्त भएको छ ।

निर्वाचन आयोगका अनुसार माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा सदस्यका निम्ति उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने छ । समयको सदुपयोग गर्दै सोही दिन ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ । त्यसै गरी माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरिएको छ । त्यस दिन बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । लोकतान्त्रिक पद्धति खुलापनमा आधारित हुन्छ । उजुरीमा दिइएको निवेदन जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुने छ । यसै गरी उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न दिइने छ । निर्वाचनको कार्यतालिका आएसँगै राजनीतिक दल स्थापना गरी निर्वाचनमार्फत देशको सेवामा समर्पित हुने अपार उत्साह देखिन थालेको छ । साबिक राजनीतिक दलसँगै नयाँ नयाँ राजनीतिक दल स्थापना हुन थालेका छन् । देशका अनेक क्षेत्रमा क्रियाशील बुद्धिजीवी, उद्यमी, प्रशासकलगायतका विविध आयाममा चर्चित व्यक्तित्व राजनीतिक पार्टीमा आबद्ध हुन थालेका छन् । निर्वाचन आयोगमा दर्ता गराउन पुगेका प्रस्तावित दलका पदाधिकारीमा विविधता देखिएको छ । अधिकांश चर्चित व्यक्तिको समर्थन र सहभागिताले आगामी निर्वाचनमा नवीन प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । निर्वाचन आयोगमा कात्तिक ३० गतेसम्म १२३ वटा दलले दर्ताको प्रमाणपत्र लिएका छन् । दल दर्ताको प्रक्रिया रोकिएको छैन । थप ३२ वटा दलले कात्तिक ३० गते दर्ताका लागि निवेदन दिएका छन् । 

दल दर्ता वैधानिक प्रक्रिया हो । निवेदन दिएका दलको आयोगले विधि, प्रक्रिया र कागजात हेरिरहेको छ । ती दलले दल दर्ताको प्रमाणपत्र पाउने क्रममा छन् । प्रमाणपत्र पाउन बाँकी दलको आवश्यक कागजात पु¥याउने क्रममा छन् । निर्वाचनमा सहज होस् भन्ने उद्देश्यले आयोगले कानुन, विधि र प्रक्रिया अनुसार थप समय दिइरहेको छ । राजनीतिक दल केवल संस्था दर्ता मात्र होइन, विचार र सिद्धान्तको प्रतिस्पर्धा पनि हो । दलमा देश र जनताप्रति स्पष्ट दृष्टिकोण हुनु पर्छ । राज्य सञ्चालनको खाका हुनु पर्छ । विकास र सुशासनको सुस्पष्ट मार्गचित्र हुनु पर्छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले नयाँ नयाँ दललाई सुशासन र विकासको मार्गचित्र कोरेर जनतासम्म पुग्ने सुअवसर प्राप्त भएको छ । लोकतान्त्रिक पद्धतिमा जनमत नै सर्वोपरि हो । जनताले मतदानबाट आफ्ना विधायक छान्छन् । विधायकले कार्यकारी छान्ने संवैधानिक प्रक्रिया छ । लोकतन्त्रमा धेरै दलभन्दा सुसङ्गठित, विचार र सिद्धान्तले जनमत जित्न सक्ने सीमित तर सुसङ्गठित दल भए राज्य सञ्चालनमा अझ सजिलो हुन्छ भन्ने विश्व अनुभव पनि छ । जनतामा जान दल र स्वतन्त्र रूपमा प्रत्येक योग्यता पुगेको नागरिकको हक छ । प्राप्त हक र अधिकारलाई लोकतान्त्रिक मूल्य, मर्म, आदर्श र भावना अनुसार प्रयोग गर्नु पर्छ । फागुन २१ को निर्वाचनका निम्ति अपार दलीय उत्साहलाई मुलुकको उन्नत लोकतान्त्रिक भविष्यका निम्ति संस्थागत गर्दै जानु आवश्यक देखिन्छ ।