मानिस विकसित सामाजिक प्राणी हो । ऊ समाजमा बस्छ । एकआपसमा अन्तर्क्रिया गर्छ । उसलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणीका रूपमा पनि लिइन्छ । मानिस जनावरभन्दा पृथक् छ । तर्क गर्न सक्ने विवेक पनि छ । मानिसले तर्क र विज्ञानको प्रयोग गरी विभिन्न आविष्कार र भौतिक विकास गरी जीवनलाई सजिलो पनि बनाएको छ । सबैसँग मिलेर बस्ने क्षमता पनि छ तर मानिस र उसको समाजमा विभेद छ । विभेदको शाब्दिक अर्थ भेदभाव गर्ने काम भन्ने हुन्छ । कुनै पनि चिजलाई उसका बनावटका हिसाबले, त्यसका कमजोरीका कारण निचो वा तल देखाउने कार्य नै विभेद हो । विभेदको विपरीतार्थक शब्द समानता हो । समानताको अर्थ समान हुने चाल वा स्थिति भन्ने हुन्छ । मानवीय समानता आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक र जातीय आदिमा हुनुपर्ने हो । कानुनतः जातीय विभेद छैन तर समाजमा विभेद छ । यो ठुलो सामाजिक समस्या बनेको छ । आध्यामिक र भौतिक रूपले विभेद गर्नुपर्ने कुनै कारण छैन । अध्यात्मवादले सबै मानिस एक ईश्वर वा एक प्रकृतिका सन्तान हुन् भनेको छ । प्रकृतिले सबैलाई बाँच्न पाउने समान अधिकार दिएको छ । भिन्नताको कारण त वंशाणु मात्र हो । यो विभेद होइन । पृथक् विषयका बिचमा त झन् विभेद नहुनुपर्ने हो । जन्मका कारण कुनै पनि मानिसलाई विभेद गर्न मिल्दैन ।
सामाजिक रूपमा देखा परेका विभेद नितान्त मानव निर्मित र स्वार्थ जडित छन् । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । कानुनी हिसाबले सबै नेपालीलाई समान अधिकार र अवसर छ तर व्यवहारमा भने सामाजिक विभेदले जरा गाडेको छ । वर्गीय र जातीय विभेदलाई आर्थिक असमानता, अज्ञान र अन्धविश्वासले मलजल गरेको छ । जातीय विभेद वा छुवाछुत अझै पनि समाजमा व्याप्त छ । इतिहासको कुनै कालखण्डमा कार्यविभाजनका लागि छुट्याइएका जात पछि केही मानिसका स्वार्थका कारण विभेदका कारण बने । पढ्ने पढाउने ब्राह्मण, राज्य सञ्चालन र रक्षा गर्ने क्षेत्री, व्यापार गर्ने वैश्य र दैनिक प्रयोजनका सामग्री उत्पादन र खेती गर्ने शूद्रबिच विभेद गर्न थालियो । जन्मका आधारमा ब्राह्मण र क्षेत्रीलाई उपल्लो जात मान्न थालियो र शूद्रलाई भने तल्लो जात वा दलित भन्न थालियो । त्यसपछि उपल्लो भनिएको जातले दलितमाथि विभेद गर्न थाल्यो तर विभेद त्यतिमा सीमित भएन दलितभित्रै पनि एकअर्कालाई विभेद गर्न थाले । अहिले पनि यी विभेद अन्त्य भएको छैन । जातका आधारमा डेराका लागि कोठा नदिइएको घटना होस् वा आफ्नै प्रेमिकाका परिवारले तल्लो जात भएकै कारण हत्या गरिएका नवराज विक, दलितको दुध किनेकोमा डेरी पसल नै बन्द गर्नु परेका बैतडीका शेरबहादुर कुँवर यसका उदाहरण हुन् । सामाजिक विभेद न्यूनीकरण र उन्मूलनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।
नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको छ । यसले उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा भेदभाव वा छुवाछुत गर्न नहुने भनेको छ । कसैले भेदभाव वा छुवाछुत गरे यो धाराले कारबाही र क्षतिपूर्तिको प्रावधान पनि राखेको छ । बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले समेत पहिलो पटक जातीय विभेदको पीडा खेप्नु परेको छ । डेरी पसलमा दलित समुदायको दुध किन्न सुरु गरेपछि उहाँले जातीय विभेदको पीडा मात्रै खेप्नुभएन, उहाँको डेरी पसल नै बन्द भएको छ । दशरथ चन्द नगरपालिका–५, नौहाटका कुँवरले २६ वर्षदेखि उन्नत जातको गाई पाल्दै आउनुभएको छ । जिल्ला सदरमुकामका होटेलमा दुधको आपूर्ति गर्न उहाँले २०५६ सालमा भारतको पिथौरागढबाट सात दिन हिँडेर उन्नत जातको गाई बैतडी ल्याउनुभयो । दलित, गैरदलित सबै किसानलाई आबद्ध गरेर कामधेनु दुग्ध सहकारी खोल्नुभयो । दलित समुदायको दुध किन्न सुरु मात्र के गर्नुभएको थियो शेरबहादुरले त दलितको दुध किन्न थाल्यो भन्दै हल्ला फैलियो । दुध किन्ने ग्राहक भड्किएपछि डेरी पसल बन्द भयो । उहाँले लगानीसमेत डुबाउनुभयो । अतः सामाजिक विभेद हटाउन राज्यले कानुन मात्र बनाएर पुग्दो रहेनछ, यसका लागि समाज पनि चेतनशील हुन जरुरी छ ।