• १२ साउन २०८१, शनिबार

निर्णायक खेलमा नेपाललाई युएईको ३११ रनको चुनौतीपूर्ण लक्ष्य

blog

खेलअघि खेलाडीलाई हौसला प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरहरु : विकास द्वारे र क्यान

काठमाडौं, चैत २ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई जितको लागि संयुक्त अरब इमिरेट्स (युएई) ले तीन सय ११ (३११) रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 


त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनायो ।


युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेल्नुभयो । उहाँले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै वृत्य अरविन्दले ९४ रन बनाउनुभयो । कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो । 


विश्वकप लिग-२ कै अन्तिम यस खेल नेपालका लागि विश्वकप छनोटमा स्थान बनाउन निकै महत्वपूर्ण छ । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल यस सिरिजमा क्लीन स्वीप गदै आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने लक्ष्यमा छ ।

यता युएई पनि नेपाललाई हराएर लिगको सुखद अन्त्य गर्ने तयारीमा छ । नेपाली टोलीलाई सर्मथन गर्न हजारौं सङ्ख्यामा दर्शक बिहीबार बिहानै कीर्तिपुर पुगेका छन् ।


जित बाहेक अर्को विकल्प नरहेकोले नेपाललाई आजको खेलमा साँझसम्म मौसमले समेत साथ दिनुपर्ने आवश्यकता छ । पराजित भएमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने विश्वकप छनोट खेलको क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

लिगमा ३५ खेल खेलेको नेपाल १८ जित र १५ हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ। सबै खेल सकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ ।


नेपालले आजको खेल जितेमा नामिबिया चौथो स्थानमा झर्नेछ भने नेपालले शीर्ष तीनमा स्थान बनाउँदै जिम्बावेको यात्रा तय गर्नेछ । युएईसँग बराबरीमा रोकिए पनि नेपाललाई काम छैन ।


३५ खेलबाट ३३ अङ्क बनाएको युएई छैटौं स्थानमा छ । युएई सोझै छनोटबाट बाहिरिसकेको छ । यस्तै यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) सबै ३६ खेल ११ अङ्कसहित तालिकाको अन्तिममा छ । 


सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बावे यात्रा तय गरिसकेका छन् ।

३९ अङ्क जोड्दै ३९ अङ्क बनाएको नामिबियालाई नेपालको उत्कृष्ट लयले थप झस्काएको छ । नेपालले आज युएईलाई हराएमा  ४० अङ्क बनाउनेछ । यस्तै ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा छ । 


लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने प्रावधान छ ।