• १६ चैत २०८०, शुक्रबार

कुकुरका छाउरा छाउरीमा देखिने ‘पार्वो भाइरस’ के हो ?

blog

काठमाडौँ,फागुन २६ गते । केही दिन घि चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । अस्पतालमा उपचारका लागि लगिएका  ३० देखि ४० प्रतिशतमा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको थियो । 

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले ‘पार्वो भाइरस’ नयाँ नभएको र वर्षैपिच्छे केही स्थानमा महामारीको रूपमा देखापर्ने बताउनुहुन्छ । उहाँका अनुसार यो भाइरस विशेष गरी चिसो मौसममा सक्रिय हुने गर्छ । उहाँ भन्नुहुन्छ, “यो भाइरस विशेष गरी लामो समयसम्म चिसो भएमा र हिउँ लामो समयसम्म पर्यो भने भाइरस सक्रिय हुन्छ।”  पार्वोको सङ्क्रमण भएका कुकुरमा खान मन नलाग्ने, पखाला लाग्ने, रगतमासी पर्ने जस्ता लक्षण देखापर्ने अधिकारी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “कुकुरमा यो भाइरसको सङ्क्रमण भएमा, “झोक्राएर कुनामा बस्ने, अल्छी हुने ,कमजोर हुने, पटक पटक बान्ता र पातलो दिसा गर्ने जस्ता लक्षण देखिन्छन् ।“ पार्वो भाइरस सङ्क्रमण भएपछि अत्यधिक झाडापखाला भई डिहाइड्रेसनको कारणले कुकुरको मृत्युसमेत हुने हुँदा हेलचेक्राइँ नगरी तुरुन्त उपचार गर्न ढकालको सुझाव छ । 

के हो पार्वो भाइरस ?

सूचना अधिकारी ढकालका अनुसार पार्वो भाइरस सङ्क्रामक रोग हो । पार्वो भाइरस जनावरका साथ साथै मानिसमा पनि हुने गर्छ । मानिस र जनावरमा हुने भाइरसको प्रवृत्ति फरक फरक हुने ढकाल बताउनुहुन्छ । ढकालका अनुसार जाडो महिनामा यो भाइरसको सङ्क्रमण बढी सक्रिय हुन्छ । कुकुरका छाउरा छाउरीको पाचन प्रणालीमा असर गर्ने गर्छ । 

कस्ता कुकुर जोखिममा हुन्छन् 

ढकालका अनुसार यो भाइरस विदेशबाट ल्याइएका विभिन्न प्रजातिका कुकुरमा बढी जोखिम हुन्छ ।उहाँ भन्नुहुन्छ, “स्थानीय कुकुरमा पनि यो भाइरस देखिन्छ ।विशेष गरी विदेशीबाट ल्याइएका विभिन्न प्रजातिका कुकुरमा बढी जोखिम हुन्छ ।” 

विशेष गरी कुकुरका छाउराछाउरी बढी जोखिममा हुने ढकाल बताउनुहुन्छ  । झाडापखाला लागेको बेलामा कुकुरलाई धेरै तिर्खा लाग्ने हुँदा बेलाबेलामा जीवनजल बनाएर खुवाउन ढकालको सुझाव छ । यदि कुकुरले धेरै नै गाह्रो भएमा पशु रोग विशेषज्ञ लगेर नसाको माध्यमबाट जीवनजल दिनुपर्ने ढकालको भनाइ छ ।  

यो भाइरस कसरी सर्छ 

 यो भाइरस जनावरबाट मानिसमा सरेको अहिलेसम्म कुनै अध्ययनले पुष्टि नगरेको ढकाल बताउनुहुन्छ । ढकालका अनुसार यो भाइरस एक जनावरबाट अर्को जनावरमा सर्ने सम्भावना बढी हुन्छ ।  सङ्क्रमित कुकुरको सम्पर्कमा आएमा एक जनावरबाट अर्को जनावरमा सर्ने ढकाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “सङ्क्रमित जनावरको सम्पर्कमा आएमा, उनीहरूले प्रयोग गरेका बेड प्रयोग गरेमा सङ्क्रमित जनावरले खाएको भाँडामा खाएमा यो एक जनावरबाट अर्कोमा सर्ने गर्छ ।”

उपचार 

अहिलेसम्म पार्वो भाइरसको उपचार सम्भव नभएको ढकाल बताउनुहुन्छ । सङ्क्रमित कुकुरको भाइरसको लक्षणका आधारमा उपचार गरिने ढकालको भनाइ छ ।  

उहाँका अनुसार रोग लागेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना, औषधि खुवाउने  । सङ्क्रमण बढी छ भने सङ्क्रमण कम गर्न एन्टिबायोटिक दिइने ढकालको भनाइ छ । त्यस्तै, वान्ता वा झाडापखाला लागेमा औषधि दिएर नियन्त्रण गर्न सकिने ढकाल बताउनुहुन्छ । 

जनावरमा कमजोरी भएको छ भने कमजोरीबाट बचाउन मल्टी भिटामिन दिन सकिन्छ । झाडापखाला धेरै लाग्दा पाचन प्रणालीमा घाउ भएको हुने हुँदा निको बनाउन बनाउन औषधि दिने ढकालको भनाइ छ । 

रोगबाट बचाउन के गर्ने 

जनावर पालेका मानिसले आफ्नो जनावरलाई लक्षण देखिएमा तुरुन्त पशुरोग विशेषज्ञसँग परामर्श गर्न ढकालको आग्रह छ ।  समुदायका जनावरमा सङ्क्रमित भएमा समुदायले तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न उहाँको आग्रह छ । 

यो रोगलाई महामारीको रूप लिनबाट रोक्न रोग लागेपछि कुकुरलाई घरमा नै राखेर उपचार गर्ने र जथाभाबी दिसापिसाब नगराउन उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “जनावरलाई खुला ठाउँमा दिसापिसाब गराउँदा भाइरसले महामारीको रूप लिने हुँदा घटमानै राखेर उपचार गर्नुपर्छ । उनीहरूले दिसा पिसाब गरेको ठाउँमा राम्रोसँग सफा गर्ने ।”

यो भाइरसबाट बचाउन कुकुरलाई पार्वोविरुद्धको नियमित खोप लगाउनुपर्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।