• १३ वैशाख २०८१, बिहिबार

पीएनजीसँग युएई हार्दा नेपाललाई फाइदा

blog

घरेलु टोली यूएईलाई हराएपछि पीएनजीका खेलाडी । तस्बिर : आईसीसी

काठमाडौं, फागुन २१ गते । संयुक्त अरब इमिरेट् (युएई) मा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा युएईलाई पपुवा न्युगिनी (पीएनजी)ले हराएपछि नेपाललाई केही फाइदा भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा पीएनजीले युएईलाई पाँच विकेटले हरायो । युएईले दिएको ९८ रनको विजयी लक्ष्य पीएनजीले २६.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

पीएनजीको जितमा टोनी उराले ३५ रन बनाउनुभयो । सेसे बाउले १८ र हिरि हिरि १४ रन बनाउनुभयो । बलिङमा युएईका रोहन मुस्ताफाले दुई विकेट लिनुभयो । जाहोर खान, आयान खान र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको युएईले २६.२ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउनुभयो । मोहम्मद वासिमले १९, आसिफ खानले ११ र कप्तान सीपी रिजवानले १० रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न पीएनजीका राइली हिरुकेले पाँच विकेट लिनुभयो । चाड सोपारले तीन विकेट लिनुभयो । चार्लेस अमिनीले एक विकेट झार्नुभयो ।

जितसँगै ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । ३१ खेलबाट ३१ नै अङ्क बनाएको युएई पाँचौँ स्थानमा छ । ३१ खेलबाट ३० अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ ।

यस सिरिजको अन्तिम खेलमा नेपालले सोमबार युएईसँग खेल्नेछ । युएईलाई हराएमा नेपाल पाँचौँ स्थानमा उक्लिनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (पाँच) खेल जित्नु पर्ने बाध्यता छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्षतीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।