काठमाडौँ, चैत ७ गते । आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताका खेलहरू काठमाडौँको मुलपानी तथा मधेश प्रदेशको जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशाला र वीरगन्जस्थित नारायणी रङ्गशालामा हुने छ ।
शनिबार वीरगन्जमा सुरु भएको कर्णाली र लुम्बिनी प्रदेशबिचको खेल वर्षाले प्रभावित बनेको छ । वर्षका कारण दुई टोलीबिचको खेल बिचैमा रोकिएको हो ।
लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएपनि कर्णालीले सात ओभर सक्दा खेल बिचैमा रोकियो । वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली आर्मी, पुलिस र एपिएफ गरी १० टोलीको सहभागिता रहेको छ ।
सिङ्गल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिातमा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले १०, उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।
