• १४ चैत २०८२, शनिबार

मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित ?

blog

मेक्सिको, चैत १४ गते । मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्ति मध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ । 

सरकारले भ्याक्सिनेसन अभिलेख, जन्म/विवाह दर्ता, कर अभिलेख जस्ता स्रोतसँग मिलाएर ती व्यक्तिको गतिविधि पत्ता लगाएको बताएको छ भने पाँच हजार २६९ जनालाई फेला पारेर ‘फेला परेका’ भनेर मार्क गरिएको छ । सुरक्षा अधिकारी मार्केला फिगुएरोआले कतिपय हराउने घटनालाई ‘स्वैच्छिक अनुपस्थिति’ को रूपमा व्याख्या गर्नुभएको छ ।

तर खोजी समूहका अगुवा हेक्तोर फ्लोरेसले सरकारले तथ्याङ्कलाई भ्रामक ढङ्गले प्रस्तुत गरेको र वास्तविक समस्या लुकाउने प्रयास गरेको आरोप लगाएका छन् । प्रतिवेदन अनुसार करिब ४६ हजार (३६%) हराएका व्यक्तिको अभिलेख अपूर्ण छ र ४३ हजार १२८ (३३%) का नाममा कुनै गतिविधि छैन, जसमा १०% भन्दा कम मात्र आपराधिक अनुसन्धानमा छन् । 

मेक्सिकोमा हराउने घटना कर्तेल हिंसा र द्वन्द्वसँग जोडिएका छन्, कतिपय अवस्थामा राज्य निकायको संलग्नता समेत देखिएको छ । मानवअधिकार समूहले भने सरकारले आफ्नो जिम्मेवारी कम गरेको र पारिवारिक खोजीलाई अझ कठिन बनाएको बताएका छन्, जसले परिवारलाई आफैँ खोजी गर्न बाध्य बनाएको छ । रासस/सिन्ह्वा