• १४ चैत २०८२, शनिबार

हिमपातका कारण बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा ५० हजार मानिस अन्धकारमा

blog

साराजेभो, चैत १४ गते । भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया तथा हर्जेगोभिनाको उत्तरपश्चिमी उना-साना क्षेत्रमा करिब ५० हजार उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् । स्थानीय अधिकारीका अनुसार सबैभन्दा बढी समस्या बिहाच र काजिन सहरमा देखिएको छ, जहाँ वितरण सञ्जालमा ठुलो सङ्ख्यामा अवरोध उत्पन्न भएको छ ।

भारी र भिजेको हिमपातका कारण विद्युत् संरचनामा अत्यधिक दबाब परेको छ, जसले प्रसारण र वितरण लाइनमा यान्त्रिक क्षति र अवरोध निम्त्याएको छ । विद्युत् कार्यालयका अनुसार तार तन्किने, टुट्ने र आपसमा बेरिने समस्या देखिएको छ भने हिमको तौलका कारण कङ्क्रीट र फलामका खम्बाहरू पनि क्षतिग्रस्त भएका छन् । साथै रुख ढल्दा र हाँगा भाचिदा थप समस्या सिर्जना भएको छ ।

कडा मौसम र विद्युत् अवरोधका कारण क्षेत्रका प्राथमिक विद्यालय बन्द गरिएको छ । अधिकारीहरूले अधिकांश समस्या साँझसम्म समाधान हुने अपेक्षा गरे पनि पूर्णरूपमा विद्युत् आपूर्ति पुनः स्थापना हुन भने अझ समय लाग्न सक्ने बताएका छन् । रासस/सिन्ह्वा