काठमाडौँ, चैत १४ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबिएल) मा केभिसी हाउन्ड्सले विजय यात्रा जारी राखेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्ड हलमा लगातार छैटौँ जित निकाल्नो क्रमममा हाउन्ड्सले सोलो बास्केटबल क्लबलाई १०२–६९ ले हरायो ।
सुरुवाती तीन खेलमा पराजित भएपछि हाउन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ । पहिलो क्वाटर सोलोले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।
तर हाउन्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८–१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०–४४ ले अग्रता बनायो । हाउन्ड्सले तेस्रो क्वाटर २९–१४ र चौथो क्वाटर २६–११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो ।
नौ खेलपछि १५ अङ्क जोडेर हाउन्ड्स चौथो स्थानमा कायम छ । हाउन्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो । सोलोको यो सातौँ हार हो । सोलो नौ खेलबाट ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।
नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबिएलमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।