• ६ पुस २०८१, शनिबार

लिङ्ग परिवर्तन पहिचानको प्रयास

blog

अहिले केटा ‘केटी’ र केटी ‘केटा’ भएका उदाहरण बढ्दै छन् । यसरी लिङ्ग परिवर्तन गरेर केटा ‘केटी’ र केटी ‘केटा’ भएकाहरू हरेक मुलुकमा छन् । 

प्रसिद्ध कलाकार सन्तोष पन्तका छोरा प्रतीक पन्त थाइल्यान्डबाट लिङ्ग परिवर्तन गराएर आउँदा जिब्रो टोक्ने धेरै थिए । ११ वर्षअघिको कुरो हो, यसरी प्रतीक पन्त ‘केटलिन पन्त’ भएको घटना नेपालका लागि नौलो थियो । नेपालीले लिङ्ग परिवर्तन गराएको घटना यही पहिलो हो भन्न चाहिँ ठोस अनुसन्धानबिना गाह्रो छ ।

त्यसयता अनेक नेपालीले लिङ्ग परिवर्तन गराएका समाचार बेलाबखत सार्वजनिक भइरहेका छन् । बकैया वडा नं. ३, मकवानपुरका सजीव लोप्चन ‘सञ्जीवनी लोप्चन’ बनिन् । उनले पुरानो (पुरुष) नामको  नागरिकता परिवर्तन गरी सञ्जीवनीका नाममा नागरिकता लिएकी छन् । लिङ्ग परिवर्तन गरिएको थाइल्यान्डको अस्पतालको प्रमाणपत्रका आधारमा उनलाई जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट अर्को नामको नागरिकता दिइएको थियो ।

‘केटालाई केटी र केटीलाई केटा बनाउने कामबाहेक अरू सबै कुरा गर्न सकिने’ उहिलेको भनाइ खुइलिसक्यो । 

हेटौँडा मूलघर बताउने सन्ध्या लामाले पनि लिङ्ग परिवर्तन गराई महिला पहिचान बनाएकी हुन् । समाचारमा आएअनुसार उनी पहिले तेस्रोलिङ्गी थिइन् ।

काउले, नुवाकोटका नवीनकुमार वाइबाले अञ्जली वाइबा भई ‘सुपर मोडल’ हुने सपना बोकेकी थिइन् । तेस्रोलिङ्गी मोडलका रूपमा ‘क्याटवाक’समेत गरेकी उनीबारे राजधानीमा वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।  

भारतका ‘फेसन डिजाइनर’ स्वप्निल सिंदे लिङ्ग परिवर्तन गराई सायसा सिंदे हुँदाको खबर पनि चर्चामा रह्यो । हिन्दी सिने जगत्का चर्चित नायिका दिपिका पादुकोण, करिना कपुर खान, श्रद्धा कपुर आदिका पोसाक डिजाइन गर्ने स्वप्निलले लिङ्ग परिवर्तन गरेको खबर चासो र चर्चामा रहनु अनौठो थिएन । महाराष्ट्रको समाजमा सहज, स्वाभाविक विषय नभए पनि उनको परिवारले सहर्ष स्वीकारेका कारण अरू कसैलाई यो विषय टाउको दुख्ने कुरै भएन । 

भारतको मध्यप्रदेश गृह विभागकी आरक्षक महिला प्रहरीलाई लिङ्ग परिवर्तन गर्न अनुमति दिएको खबर पनि स्मरणीय छ । मनोचिकित्सकद्वारा ती महिला आरक्षकलाई सानैदेखि ‘जेन्डर आइडेन्टिटी डिसअर्डर’को पुष्टि गरिएपछि लिङ्ग परिवर्तन गरी पुरुष बन्न स्वीकृति प्रदान गरिएको थियो ।

केही वर्षअघि प्रसिद्ध रेस्लर, बडी बिल्डर तथा मोटरसाइकल रेसर ‘टेलर रेक्स’ महिला बनेको खबरले पनि सबैको ध्यान खिच्यो । सन् २००२ मा विवाह गरी नौ वर्षकी छोरीसमेत भएका उनले आफ्नी पत्नीकै सहयोगमा महिला बनेको कुरो सार्वजनिक गरेका थिए ।

लिङ्ग परिवर्तनका सम्बन्धमा साँघुरो मानिने चीनमा समेत यसको सङ्ख्या बढ्दो छ । विश्वप्रसिद्ध ब्रान्ड ‘डिओर’ले आफ्नो पफ्र्युमको विज्ञापनका लागि चीनकी जिन सिङसित सम्झौता गरेको खबर प्रवाहित भएको थियो । जिन सिङ पूर्वपुरुष, ब्याले नर्तक एवं सैनिक कर्णेल हुन् । भनिन्छ सम्भवतः उनी चीनमा शल्यक्रियाबाट लिङ्ग परिवर्तन गरी महिला हुने प्रथम हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘बीबीसी’का अनुसार सात दशकअघि सन् १९५२ मा पहिलो पटक लिङ्ग परिवर्तन गरिएको थियो । शल्यक्रिया तथा हर्मोनथेरापी माध्यमबाट लिङ्ग परिवर्तन गराउने व्यक्ति थिए– अमेरिकाका पूर्वसैनिक जर्न योर्गेसन । २७ वर्षको उमेरमा उनी डेनमार्कमा गई लिङ्ग परिवर्तन गराएर ‘क्रिस्टिना’ बनेकी हुन् । उनका सम्बन्धमा चलचित्रसमेत बनाइएको छ ।

भगवान् शङ्करले यस वनमा प्रवेश गर्ने पुरुष ‘स्त्री’ हुने श्राप दिएका कारण सुद्युम्नका लिङ्ग परिवर्तन भई अतिसुन्दरी स्त्रीरूप बन्यो ।

लिङ्ग परिवर्तन गरी पुरुष महिला भएका, महिला पुरुष भएका र तेस्रोलिङ्गी महिला भएकाहरूको सङ्ख्या बर्सेनि बढ्दो छ । लिङ्ग परिवर्तनलाई स्वाभाविक तथा मानव अधिकारकै पक्ष मान्ने र मान्न नहुने भन्ने पनि छन् । विश्वका सबै मुलुकमा लिङ्ग परिवर्तनप्रति उही मनोभाव छैन । अमेरिकाको कुरो गर्ने हो भने राष्ट्रपति जो बाइडेन यसमा उदार देखिएका छन् । उनले लिङ्ग परिवर्तन गरेका व्यक्तिमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्यसेवामा लगाएको प्रतिबन्ध फुकुवा गरेका छन् । सन् २०१९ मा आठ हजार ९८० जना लिङ्ग परिवर्तन गरेका व्यक्ति सैन्य सेवामा कार्यरत थिए भने सोही साल अप्रिल महिनामा तिनमाथि प्रतिबन्ध लगाइएको थियो ।

झन्डै पाँच वर्षअघि ग्रिसमा १५ वर्षमाथिका केटाकेटीलाई लिङ्ग परिवर्तन गर्ने अधिकार दिइयो भने त्यहीँ ‘अर्थोडक्स चर्च’को चर्को विरोध पनि झेल्नुपरिरहेको छ । 

युरोप, अमेरिकामा लिङ्ग परिवर्तनप्रति किशोरकिशोरीको बढ्दो चाखलाई गम्भीर रूपमा हेर्न थालिएको समेत छ । पहिले सुरिएर लिङ्ग परिवर्तन गराइहाल्ने र त्यसपछि पछुताउने गरिएका घटना सार्वजनिक नभएका होइनन् । शल्यक्रियाको गडबडीले घातक परिणाम बेहोर्नुपरेको पीडा पनि छ । 

आवश्यकताका आधारमा लिङ्ग परिवर्तन गर्नु स्वाभाविक प्रतीत भए पनि लहडका भरमा लिङ्ग परिवर्तन गर्ने वा जबरजस्ती कसैको लिङ्ग परिवर्तन गराउने जस्ता गतिविधि विचारणीय छन् । 

यतिखेर लिङ्ग परिवर्तनको औचित्य वा अनौचित्य दर्साउनुभन्दा पनि परापूर्वकालमा समेत यसको स्वरूप रहेको पाटो मात्र दर्साउने प्रयास गरिएको छ । 

महाभारतअनुसार पञ्च पाण्डवमध्ये एक ‘अर्जुन’को पनि लिङ्ग परिवर्तन गरिएको थियो । कथाअनुसार अप्सरा उर्वशीको श्रापका कारण अर्जुन लिङ्ग परिवर्तन भई एक वर्ष ‘बृहन्नला’ बनेका थिए । बृहन्नला (स्त्री)का रूपमा अर्जुनले विराटराजाकी राजकुमारी उत्तरालाई नाच सिकाए । बृहन्नलालाई ‘षण्ढक’ पनि भनिएको आधारमा अर्जुन त्यसबखत तेस्रोलिङ्गी बनेको तर्क पनि छ । 

‘मोहिनी’ पनि यतिखेर उल्लेखनीय बनेको छ । भगवान् विष्णुले परम सुन्दरी अप्सरा ‘मोहिनी’ अवतार लिएको कथा प्रसिद्धै छ । समुद्र मन्थनका बेला निस्किएको अमृत कलश दानवबाट हत्याउन सफल मोहिनीको सौन्दर्यबाट महादेवसमेत वशीभूत भए । विष्णुको स्त्रीरूप जान्दाजान्दै रूपसौन्दर्यका कारण मोहिनीप्रति लठ्ठिई पछिपछि लाग्दा महादेवको वीर्यपात भयो । यसबाट ‘सस्तव’ पुत्रको जन्म हुनपुग्यो । पंपा नदीका किनारमा छाडिएका यिनको पालनपोषण राजशेखराले गरेको उल्लेख पाइन्छ । दक्षिण भारतीयहरू यिनलाई ‘अयप्पा’का नामले पूजाअर्चना गर्दछन् । शवरिमलईमा अयप्पाको मन्दिर छ । शिव र मोहिनीका सन्तान भएकाले अयप्पालाई हरिहरपुत्र पनि भनिन्छ । 

एक वा दुई पटक होइन, पटक पटक लिङ्ग परिवर्तन गरिएका दृष्टान्त पनि पुराणमा भेटिन्छ । बुधकी पत्नी तथा पुरूरवाकी माताको पटक, पटक लिङ्ग परिवर्तन गरिएको छ । श्रीमद्देवीभागवत महापुराणका अनुसार विवश्वानका पुत्र श्राद्धदेव निःसन्तान थिए । वसिष्ठ मुनिको अनुमति लिई उनले पुत्रेष्टि यज्ञ गराए, त्यसबखत उनकी पत्नी श्रद्धाले चाहिँ यज्ञका होतासित कन्याको आकाङ्क्षा राखेकी थिइन् । फलस्वरूप ‘इला’को जन्म भयो । पुत्र हुनुपर्नेमा पुत्री भएपछि श्राद्धदेव उदास भए । सबै कुरो बुझेपछि महर्षि वशिष्ठ लिङ्ग परिवर्तनका लागि तपमा लागे र सफल भए ।  अनि इलाको पुरुष नाम भयो– सुद्युम्न ।

सृष्टिको क्रम अघि बढ्ने नदेखेपछि ब्रह्माले शिव गुहार्दै तपस्या गरे र आधा भागमा शिव र आधा भागमा शिवाको ‘अद्र्धनारीश्वर’ स्वरूपको दर्शन पाए ।

युवा सुद्युम्न एक पटक सिकार खेल्न वन जाँदा भौँतारिई हिमालय क्षेत्रको वनमा पुगे, जहाँ कुनै बेला भगवान् शङ्कर पार्वतीसित प्रेममा मग्न थिए । मुनिगण भगवान् शङ्करको दर्शन गर्न त्यही बेला पुगेछन्, पार्वती लाजले भुतुक्कै हुन पुगिन् । 

मुनिगण त फर्किए तर पार्वतीलाई  प्रसन्न तुल्याउन भगवान् शङ्करले यस वनमा प्रवेश गर्ने पुरुष ‘स्त्री’ हुने श्राप दिएका कारण सुद्युम्नका लिङ्ग परिवर्तन भई अतिसुन्दरी स्त्रीरूप बन्यो । उनका सहचर पुरुष सबै स्त्री बने, घोडासमेत लिङ्ग परिवर्तन भई घोडी भए । चन्द्रपुत्र ‘बुध’ उनप्रति मोहित भए र कालान्तरमा ‘पुरूरवा’ नामको छोरोसमेत भयो । 

निकै वर्षपछि होश खुल्यो र त्यहाँबाट भागी महर्षि वशिष्ठसामु पुगी पुरुष बन्न निवेदन गरियो । महर्षिले भगवान् शङ्करको आराधना गरेर एक महिना पुरुष र एक महिना स्त्री हुने वरदान पाए । यत्तिले चित्त बुझाउने कुरो थिएन, त्यसपछि महर्षिले पार्वतीलाई प्रसन्न तुल्याई उपाय अँगाल्दा सुद्युम्न सधैँका लागि पुरुष हुनपुगे । उनको राज्याभिषेक गरियो । सुद्युम्नका उत्कल, गय तथा विनताश्व सन्तान पनि भए ।

लिङ्ग परिवर्तनको सम्बन्धमा ‘अद्र्धनारीश्वर’को महिमा विशेष छ ।  अद्र्धनारीश्वरमा ज्ञान मात्र होइन, विज्ञानको पनि आधार निहित छ । नर र नारीको समानतालाई मात्र होइन, एकत्वलाई समेत यसले दर्साएको छ । अद्र्धनारीश्वर शिवको स्वरूप हो, यो नर पनि हो र नारी पनि हो । यो विज्ञानसम्मत पूर्वीय दर्शनलाई नचिन्नेहरू मात्र नर र नारीमा भेद देख्छन् । 

सृष्टिको क्रम अघि बढ्ने नदेखेपछि ब्रह्माले शिव गुहार्दै तपस्या गरे र आधा भागमा शिव र आधा भागमा शिवाको ‘अद्र्धनारीश्वर’ स्वरूपको दर्शन पाए । मैथुनी सृष्टिबाट प्रजननको आधार खुल्यो । शिवकै शिवाशक्तिबाट अर्को उस्तै शक्ति प्रकट भएको र यही शक्ति दक्ष प्रजापतिकहाँ छोरीका रूपमा जन्मिई मैथुनी सृष्टि प्रारम्भ भएको पौराणिक प्रतीकात्मक कथा रहेको छ ।