• १३ मंसिर २०८१, बिहिबार

आयोजनामा तोडफोड

blog

काठमाडौँ, फागुन १८ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामा स्थानीयको एक समूहले आगजनी गरेको छ । 

मानेभञ्याङ्गस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा भएको विद्युत् चुहावटबाट एक बालिकाको मृत्यु भएको विषयलाई आधार बनाएर सो घटनासँग असम्बन्धित सीता हाइड्रोपावरको सो आयोजनामा आगजनी, तोडफोड तथा कर्मचारीमाथि कुटपिट भएको छ । 

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सीता हाइड्रोपावरका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले आगजनी तथा तोडफोडबाट करिब १२ करोड रुपियाँ बराबरको भौतिक क्षति र इन्जिनियरसहित सात जना घाइते भएको जानकारी दिनुभयो । 

तिमल्सिनाका अनुसार विद्युत् आयोजनासँग सरोकारै नराख्ने करिब पाँच किलोमिटर टाढा करेन्ट लागेर स्थानीय एक बालिकाको मृत्यु भएको विषयलाई जोडेर वडाध्यक्ष तथा सदस्यसमेतको संलग्नतामा तोडफोड आगजनी र आक्रमण भएको हो ।  

आक्रमणबाट आयोजनाको आवासीय भवन विद्युत्गृह, सुरुङ, क्रसर, टिप्पर, एक्साभेटरलगायतमा ठूलो क्षति भएको छ । “असम्बन्धित घटनालाई आधार बनाएर करिब ६० जनाको समूहले जलविद्युत् आयोजना निर्माण स्थलमा आएर आक्रमण गरेका हुन्,” उहाँले भन्नुभयो ।

सीता हाइड्रोपवर कम्पनीले सो आयोजना निर्माण २०७८ जेठदेखि निर्माण थालेको थियो । निर्माण सुरु गर्ने समयमा आयोजना स्थलमा लैजान लागिएको एक्साभेटर नियन्त्रणमा लिएको थियो ।