भरतपुर समाचारदाता
चितवन, फागुन १८ गते । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै गहना भएको बताउनुभएको छ।
नदी किनारामा बन्न लागेको नदी संरक्षण पूर्वाधार र सोही स्थानमा निर्माणाधीन आरती स्थलको बुधबार शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनुभएको हो। नारायणी नदी व्यवस्थापन आयोजना र सघन सहरी तथा भवन आयोजनाले संयुक्त रूपमा नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा उहाँले महानगर क्षेत्रमा एकपछि अर्को परियोजनाका लागि बजेट सुनिश्चित हुँदै आएको बताउनुभयो।
पहिलो चरणमा ६५ किलोमिटर सडक, देवघाटको शवदाह गृह, केन्द्रीय बस टर्मिनलको व्यवस्थापनलगायत दुई अर्ब रुपियाँ बराबरको परियोजना सञ्चालन भइरहँदा दोस्रो चरणमा झन्डै ५० करोड रुपियाँ बराबरको १८ किलोमिटर सडकसहित सम्भावना बोकेको नदी किनारमा ‘रिभरबिच’ संरक्षणसमेतको काम अगाडि बढेको जानकारी उहाँले दिनुभयो।
नदी किनारको संरचना निर्माणको कामलाई प्राथमिकतामा राख्दै असार मसान्तअगावै काम सक्न उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो। कार्यक्रममा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनी र सघन सहरी तथा भवन आयोजनाका डिभिजनल प्रमुख प्रकाश अर्यालले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो।
भरतपुर १ वडा कार्यालयदेखि नारायणी नदी पुलसम्मको ६५० मिटर नदी किनारमा निर्माण सुरु गरिएको कामको पनि महानगर प्रमुखले निरीक्षण गर्नुभएको थियो। उक्त क्षेत्रमा सेरवालसहितको मस्र्याङ्दी नदीबाट ल्याइएका बोल्डर ढुङ्गाको पर्खाल लगाउन लागिएको छ । १५ करोड ९२ लाख ९४ हजार ८०५ रुपियाँमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले २०७९ पुस ५ गते सम्झौता गरेको उक्त काम आगामी २०८१ असार ५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ। सोही स्थानलाई दृष्टिगत गरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत पाँच मिटर चौडा २४ मिटर लम्बाइको महाआरती स्थल निर्माण गरिने भएको छ। महानरभित्रका सडक सञ्जाल निर्माण, देवघाट बसपार्क निर्माणलगायतका कामसमेत गरी ४१ करोड १९ लाख आठ हजार २७१ रुपियाँमा महालक्ष्मी/ओम सत्य साई जेभीले नै महाआरती स्थल निर्माणको जिम्मेवारी लिएको छ। महाआरती स्थल निर्माणका लागि एक करोड ७५ लाख रुपियाँ खर्च लाग्ने बताइन्छ।