काठमाडौँ, फागुन १८ गते । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउने डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङ्मा गाउँपालिका–१, हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको हो ।
सुरुङ निर्माण सम्पन्न भएपछि मङ्गलबारदेखि सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताउनुभयो ।
“आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरसहित सुरुङको जम्मा लम्बाइ १३ दशमलव पाँच किलोमिटर रहेकामा अहिलेसम्म चार दशमलव पाँच किलोमिटर सम्पन्न भएको छ । तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो ।
आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण २०७८ पुसदेखि सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब सात सय कामदार परिचालित छन् ।
त्यसमध्ये करिब तीन सय रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।