• १३ मंसिर २०८१, बिहिबार

भुक्तानी नगरी अन्नपूर्ण चिनी उद्योग बन्द

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन १८ गते । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग बन्द भएको छ भने किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् ।

धनकौलका उखु किसान रामकल्याण यादवले अन्नपूर्ण चिनी उद्योगका मालिक उखु क्रसिङ सकेर किसानको भुक्तानी नै नदिई सम्पर्कविहीन भएको बताउनुभयो । यो उद्योग केही साता मात्रै चलेको थियो । बाँकी रकम आउने आसमा किसानले उखु ल्याएर दिए पनि भुक्तानी नै नगरी मालिक सम्पर्कविहीन भएका यादवले बताउनुभयो । किसानको भुक्तानी नदिएर ‘बदनाम’ भएको अन्नपूर्ण चिनी उद्योगप्रति किसानले यो वर्ष पनि गुनासो गरेका हुन् । अन्नपूर्णले उखु किसानलाई अघिल्ला वर्षहरूकै बक्यौता चुक्ता गर्न बाँकी छ । 

जिल्लाको महालक्ष्मी चिनी उद्योगले पनि १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ तर किसानले फटाफट भुक्तानी पाउन सकेका छैनन् । 

महालक्ष्मीमा उखु बेच्दै आउनुभएका उखु किसान एवं गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले सुरुमा क्रसिङ गरिएको उखुको भुक्तानी पाए पनि त्यसपछि थप भुक्तानी हुन नसकेको बताउनुभयो । महालक्ष्मीले केही दिनअघि उखु अभाव भएपछि क्रसिङ नै रोकेको थियो । 

अहिले पुनः उखु आउन थालेपछि मिल चालू भएको नगरप्रमुख यादवले बताउनुभयो । जिल्लाको सबैभन्दा ठूलो इन्दुशङ्कर चिनी उद्योगले भने किसानलाई माघ मसान्तसम्मको ६० करोड रुपियाँ भुक्तानी गरिसकेको छ । किसानले यो उद्योगप्रति भुक्तानीका सबालमा कुनै गुनासो गरेका छैनन् । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले किसानलाई लगातार भुक्तानी दिइरहेको बताउनुभयो ।