• १३ मंसिर २०८१, बिहिबार

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

blog

भूतपूर्व सैनिक सम्मेलनमा सहभागीहरु । तस्बिर : सैनिक मुख्यालय

काठमाडौं, फागुन १६ गते । “भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा” भन्ने नारासहित बुटवलको श्री मध्य पश्चिम पृतना हेडक्वार्टरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन-२०७९ सोमबार सम्पन्न भएको छ । 

सम्मेलनमा गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, परासी, रुपन्देही र नवलपुर गरी सात जिल्लामा बसोबास गर्ने तीन हजार नौ सय ९८ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको थियो । 


सम्मेलनको समुद्‍घाटन पश्चात सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले भूपू सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहँदै आएको बताउनुभयो ।


उहाँले सेनाको संस्थागत मूल्य र मान्यतालाई अनुशरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, शीप र कलाको प्रयोग गरी आ(आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा समर्पित रहँदै आउनु भएका अवकाश प्राप्त सैनिक व्यक्तिहरुले प्रदर्शन गर्ने अनुशासन र  सेवाभावले समग्र नेपाली सेनाको छवि निर्धारण गर्ने बताउनुभयो ।   

सम्बोधनकै क्रममा प्रधान सेनापतिले नेपाली सेनाका सकल दर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहेको बताउनुभयो । 


सोही क्रममा उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु  संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनुभयो । 


सम्मेलनमा पाल्पा जिल्ला निवासी ९७ वर्षका प्युठ दलबहादुर घम र स्वर्गीय हुद्धा अमबहादुर थामको श्रीमती पाल्पा जिल्ला निवासी ९२ वर्षकी एकल महिला श्रीमती हिम कुमारी थापालाई सम्मान गरिएको थियो ।


सर्वोत्कृष्ट लघुउद्यमी र व्यवसायीहरु दुई जना तथा विभिन्न ब्यक्तित्वहरुलाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथीलगायतको सहभागिता रहेको थियो ।