• ५ जेठ २०८१, शनिबार

उम्मेदवार तय गर्न छलफल तीव्र

सहमतिको खाका आज आउन सक्ने

blog

काठमाडौँ, फागुन ११ गते । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चरणमा संसद्का मुख्य दलहरूसँग छलफल भइरहेको छ । आज (बुधबार) चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गर्नुभएको थियो । 

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ ।”

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो तर्फबाट उम्मेदवार नउठाए पनि राष्ट्रिय सहमतिका आधारमा ‘सर्वस्वीकार्य व्यक्ति’को खोजी गरिरहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ । 

संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ । राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ । 

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान दिइरहेको छ ।  

प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको बताउनुभयो । 

उहाँले उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भए पनि निष्कर्ष आइनसकेको बताउनुभयो ।

एमाले नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले सहमतिका साथ अघि बढ्ने गरी छलफल अघि बढिरहेको बताउनुभयो । 

बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डसमक्ष एमाले अध्यक्ष ओलीले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउन प्रस्ताव गर्नुभएको हो ? भन्ने प्रश्नमा नेता दाहालले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र अध्यक्षज्यूबीच विभिन्न चरणमा, विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको छ । हाम्रो अध्यक्षको प्रस्ट धारणा ‘एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ’ भन्ने छ ।”

कांग्रेस छलफलमा

माओवादी केन्द्रलाई राष्ट्रपति निर्वाचनमा सहयोग मागेको कांग्रेसले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतासँग छलफल गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापासहित केन्द्रीय नेताहरू सहभागी हुनुहुन्थ्यो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल र नेता घनश्याम भुसाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी हुनुहुन्थ्यो । 

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनको सन्दर्भमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग संवादमार्फत अघि बढ्ने निर्णय गरेको हो । महासचिव डा. भुसालले भन्नुभयो, “हामीले को उम्मेदवार बन्ने वा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल गरेनौँ तर परिवर्तन पक्षधरसँग संवाद गरेर राष्ट्रपति सहमतिमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने हाम्रो निष्कर्ष हो ।”