• १२ मंसिर २०८१, बुधबार

ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी

blog

जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) आगलागी भएको घर । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, फागुन ७ गते ।
जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगलागीबाट भूइँतल्लामा रहेको चार कोठा र भर्याङमा क्षति पुगेको छ ।

भाडामा बस्नुभएका नवराज खड्काले खाना पकाउँदै गर्दा एक्कासी रेगुलेटरमा आगो लागेको थियो । खड्काका अनुसार ग्यास लिक भइरहेका कारण आगो निभाउन खोज्दा ग्यास ढलेको र कपडामा आगो लागेपछि आगजनी भएको थियो ।

आगो लागेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको जानकारी प्रहरी निरीक्षक जोशीले दिनुभयो ।

प्रहरीले दोस्रो र तेस्रो तलामा रहेका व्यक्तिको उद्धार गरेको छ । घरको भूइँतलामा आगलागी भएपछि दोस्रो र तेस्रो तलामा रहनुभएका सरस्वति बुढ्थापा, पर्मिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढाको उद्धार गरिएको हो ।