• ६ जेठ २०८१, आइतबार

प्रमको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्नुहुने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गर्नुभएको थियो । यस पटक पनि पदभार ग्रहण गरेलगत्तै उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतमा नै हुने उल्लेख गर्नुभएको थियो ।

भारत भ्रमणको मिति तय नभए पनि प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जानुभए हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेन्द्र क्षेत्रीले भारत भ्रमणको समयमा प्रधानमन्त्रीलाई गौतमबुद्व विमानस्थल प्रयोग गरे हवाई रुट र विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति लिन सहज हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “भारतसँग कूटनीतिक पहल नगरी भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने अवस्थामा प्रधानमन्त्रीले नै उडान भरेको जहाजलाई दिल्लीले अवतरणको अनुमति नदिने कुरै हुँदैन । अझै फर्किंदा दिल्लीबाट सिमरा हुँदै भैरहवा वा पोखरा विमानस्थलमा नै अवतरण गर्न सकिए भ्रमण थप फलदायी हुन सक्छ ।”

भारत भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु-याउन भैरहवा–दिल्ली र दिल्ली–सिमरा हुँदै पोखरा उडानले सुनमा सुगन्ध थपिने उहाँको भनाइ छ । भैरहवामा जडान गरिएको आईएलएस उपकरणको फ्रिक्वेन्सी भारतीय भूमिमा समेत परेकाले सञ्चालनमा कठिनाइ छ । उक्त कठिनाइ उच्चस्तरीय राजनीतिक तहको भेटवार्ताबाट प्रधानमन्त्रीले हटाउन सक्नुहुनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस्ता उपकरण सञ्चालनको समस्या नेपालमा मात्रै नभएर बङ्गलादेश तथा विभिन्न युरोपेली मुलुकमा समेत रहेकाले भारतले यसको निकास प्रधानमन्त्रीको निकट भ्रमणबाट दिनुपर्ने उहाँले बताउनुभयो । “भारत र बङ्गलादेशको सिमाना अगरताल (त्रिपुरा)मा पनि भारतले बङ्गलादेशको एयरस्पेस प्रयोग गर्दै आएको छ ।  सिङ्गापुर, मलेसियालगायत युरोपेली मुलुकमा समेत एक देशको एयर स्पेस अर्को देशले प्रयोग गर्दै आएका प्रशस्त उदाहरण छन्,” उहाँले भन्नुभयो ।

पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण तालिका तयार पार्दा परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयबीच (प्रोटोकल) तालमेल मिलाए भैरहवाबाट उडान सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई ध्यानमा राखी यसै भ्रमणबाट विमानस्थल सञ्चालनमा देखिएका बाधा हटाउन पहल आवश्यक छ । भ्रमणको प्रमुख मुद्दा नै यसै विषयलाई बनाए पनि द्विपक्षीय सहमतिबिना भैरहवाबाट उडान गर्दा भने अनुपयुक्त हुन सक्छ ।”

भैरहवाका पर्यटन व्यवसायी सागर अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीमा राम कथा प्रवचनका लागि भारतबाट मुरारी बापु लुम्बिनी आएपछि पर्यटकीय गतिविधि बढेको बताउनुभयो । उहाँले  भन्नुभयो,  “मुरारी बापुले चार्टर गरेर ल्याएको जहाज भैरहवामा अवतरण गरिसकेको छ । अब प्रधानमन्त्रीको भ्रमणबाट विमानस्थल सञ्चालनका लागि दिगो सम्झौता आवश्यक छ ।”

एसियाली विकास बैङ्क (एडीबी)ले भैरहवा विमानस्थलमा लगानी गर्दा भारतले हवाई मार्गमा कुनै बाधा नहुनेबारे भुटानमा भएको मन्त्रीस्तरीय बैठकमा प्रस्ट पारेको थियो । त्यसपछि मात्रै एडीबीले भैरहवामा लगानी गरेको भन्दै भारत कहिले विमानस्थल सञ्चालनको विरोधी हुन नसक्ने उहाँको तर्क छ । 

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच सोमबार सिंहदरबारमा भएको भेटवार्तामा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको थियो । भेटपछि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रधानमन्त्रीको भ्रमणमा  यस  विषयलाई  प्राथमिकता दिनेबारे चर्चा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको दाबी छ ।

भारतका तीन गन्तव्यमा उडान गर्न चाहेको बुद्व एयरका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीको भ्रमणपछि भारत उडानको अनुमतिमा सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको  बनारस, दिल्ली र देहरादुनमा उडान गर्न अनुमतिको पर्खाइमा रहेको बुद्व एयरले कूटनीतिक पहलमार्फत भारतले सहज हवाई प्रवेशबिन्दु र उडान अनुमति दिए पर्यटकीय गतिविधिसँगै दुवै देशका नागरिकलाई सहज र सर्वसुलभ यात्रामा बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीसँग बुधबार (आज) हुने भेटवार्तामा यस विषयबारे छलफल गर्ने र परराष्ट्र मन्त्रालयको थप राय लिइने बताउनुभयो । भारतका विदेश सचिव क्वात्रा र पूर्वगृहमन्त्री बालकृष्ण खाणबीचको मङ्गलबार भेटवार्तामा पनि गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माणबारे छलफल भएको थियो । थप हवाई रुटको पहल गरिदिन आग्रह गर्दै पूर्वमन्त्री खाणले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिनुभएको बारे क्वात्रालाई स्मरण गराउनुभयो ।

   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।