• २१ असोज २०८१, सोमबार

सुक्खा गाउँमा तरकारीको हरियाली

blog

दैलेख समाचारदाता

दैलेख, फागुन २ गते । दुल्लु नगरपालिका–२, बडापोखरा गाउँ सुक्खाक्षेत्र गाउँ हो। डाँडामा बस्ती छ। पानीका मुहान वरिपरि छैनन्। घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने त्यहाँका बासिन्दा र गाउँको परिचय अहिले भने फेरिएको छ। त्यो गाउँमा अहिले व्यावसायिक तरकारी खेती भइरहेको छ। कुनै बेलाको सुक्खा गाउँ अहिले तरकारी गाउँका रूपमा परिचय नै फेरिएको छ। 

दुल्लु नगरपालिका, सोसेक नेपाल र समुदायको गरी ३२ लाख ४० हजार पाँच सय रुपियाँको लागतमा कुन्टेआवत बडापोखरा सोलार लिफ्ट सिँचाइ योजना निर्माणपछि गाउँमा तरकारी खेती फस्टाएको हो। दुल्लु नगरपालिका–२ की हिरा रावतका अनुसार एक हजार ५३४ मिटर तलबाट सोलार लिफ्टमार्फत पानी तानिएको छ। तानिएको पानीलाई गाउँमा दुईवटा पोखरी निर्माण गरी जम्मा पारिएको छ। सो योजनाले ९८ घरधुरी लाभान्वित भएका छन्। स्थानीय रावतले भन्नुभयो, “हाम्रो गाउँ डाँडामा छ। सधैँ सुक्खा भइरहन्थ्यो, अहिले सिँचाइ सुविधा पुगेको छ। हामी त असाध्यै खुसी छौँ।”

उहाँले खानेपानीसँगै सिँचाइ सुविधा पुगेपछि गाउँका अधिकांश घरपरिवार व्यावसायिक तरकारी खेतीमा लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मौसमी बेमौसमी तरकारी खेती तथा फलफूल खेती गरिरहेका छौँ।”

दुल्लु नगरपालिका–२ का धरमबहादुर थापाले गाउँमा सिंँचाइ पुगेपछि अधिकांश घरपरिवार तरकारी खेतीमा हौसिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सिंँचाइ सुविधा नहुँदा धेरै जग्गा बाँझो छोड्नुपथ्र्यो, अहिले त तरकारी खेती मात्रै होइन अन्य बालीलाई समेत सिँचाइ गर्न सहज भएको छ। सिँचाइ सुविधासँगै बडापोखरालाई जलवायुमैत्री नमुना गाउँ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको छ।”