• ८ वैशाख २०८१, शनिबार

सीमा विवाद समाधान द्विपक्षीय संयन्त्रमार्फत

blog

काठमाडौँ, फागुन २ गते । नेपाल–भारत विदेश सचिवस्तरीय बैठकले दुई देशबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति गरेको छ। सोमबार नेपालमा सम्पन्न बैठकमा सीमा विवादका विषयमा समाधान हुन बाँकी रहेका खण्डहरूमा सिमानाको कार्यदलमार्फत काम पूरा गर्ने सहमति भएको हो। 

दुई देशको सीमा क्षेत्र अद्यावधिक गर्दै दुवैतर्फबाट सीमा क्षेत्रमा थप सुरक्षा गर्ने विषयमा काम हुँदै आएको छ। काठमाडौँमा बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र उहाँका समकक्षी भारतका विदेशसचिव विनयमोहन क्वात्राले नेतृत्व गर्नुभएको थियो।

बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जन सम्बन्धलगायतका विषयमा गहन छलफल भएको प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। 

बैठकमा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनामा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेको छ। परराष्ट्र सचिव पौड्यालले मलको आपूर्ति, खाद्यान्न निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो। 

त्यस्तै दुवै पक्षबीच पारवहन सन्धि नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी)को बैठक चाँडै नै बस्ने विषयमा समझदारी भएको छ। त्यस्तै विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन रूपमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता भारतीय पक्षबाट गरिएको छ। त्यसका लागि सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र लक आईभीअन्तर्गत प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको छ। 

बैठकका क्रममा परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि चाँडो सहमतिका लागि नेपाल सरकारका तर्फबाट अनुरोध गर्नुभयो। दुई देशका विदेश सेवा प्रज्ञा–प्रतिष्ठानबीचको सम्झौतापत्रलाई अन्तिम रूप दिन पनि बैठकमा सहमति भएको छ। 

दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण भेटवार्तापछि सचिव पौड्यालले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। भारतका विदेश सचिव क्वात्रा मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ।