• २६ वैशाख २०८१, बुधबार

माघमा घिउ–चाकु

blog

आरुषी सापकोटा 

कक्षा : ६, 

पाठशाला नेपाल फाउन्डेसन


हामीले विभिन्न चाड/पर्वहरू बडो हर्सोल्लासका साथ मनाउँदै आएका छौँ । त्यसमध्ये माघे सङ्क्रान्ति पनि रमाइलो र मीठो खाने पर्वका रूपमा मनाउँदै आएका छौं । प्रत्येक वर्ष माघ १ गतेदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्छ । यसै अवसरलाई माघे सङ्क्रान्ति वा माघीका रूपमा मनाउने चलन छ । सङ्क्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो । माघे सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । उत्तरायणका समयमा दिनहरू लामा र रातहरू छोटा हुन्छन् । यो दिन आफन्तसँग मीठा फल, कन्दमूल खाएर मनाउने गरिन्छ । 

यो पर्वलाई सबैले आआफ्नै संस्कृति र मान्यताअनुसार मनाउने गर्छन् । तिलको लड्डु चाडमा मात्रै होइन, अन्य समयमा पनि खाने हो शरीरलाई निकै फाइदा पुग्ने गर्छ । शुभकार्यहरूमा पनि तिलको विशेष प्रयोग हुने गर्छ । तिलको लड्डु, चाकु, मुरैको लड्डु, सखरखण्ड, तरुलजस्ता स्वास्थ्यलाई अति नै फाइदा गर्ने कन्दमूल र खानेकुरा खाँदा संस्कृति जोगिने मात्रै होइन, शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । 

यो पर्व सबै समुदायले मनाउने गरेको भए पनि थारू र मगर समुदायले भने विशेष रूपमा मनाउँदै आएका छन् । थारू समुदायले यो पर्वलाई वर्षभरिको सबै कामको मूल्याङ्कन गरेर अर्को वर्षको योजना बनाउने पर्वका रूपमा मनाउने गर्छन् । ढिकरी, चिचर, घुँगी, सेलरोटीजस्ता परिकार बनाएर खान्छन् । त्यस्तै मगर समुदायले माघीलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने गर्छन् । मगर समुदायले नदीमा तोरण गर्ने, चेलीबेटी पुज्ने, तरुल र वटुक खाने गर्छन् । सामूहिक रूपमा नाचगान गर्ने पनि गर्छन् । 

माघे सङ्क्रान्तिका दिन विभिन्न नदीनाला, सागरमा गएर पूजाआजा गर्ने चलन छ । बिहानै नुहाउँदा छालाको रोगबाट मुक्ति मिल्ने जनविश्वास कायमै छ । विशेषतः जाडो महिनामा चिसोको रोगले सताउने भएका कारण शरीरलाई न्यायो राख्ने घिउ, चाकु, तिलको प्रयोगले फाइदा पुग्ने गर्छ । सबै समुदायले मनाउने यो पर्वले सबैमा सद्भाव, विश्वास र एकता कायम गर्न सफल रहोस् भन्ने शुभकामना ।