नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएकी कवयित्री राधा कार्कीको शाश्वत आकृति नामक कविता सङ्ग्रहमा शाश्वत आकृति, प्रतिरूप, मीठो संयोग, समयको कुइँनेटो, कान्छीको संवेदना, श्रमको सवाइलगायत विभिन्न शीर्षकका बाउन्नवटा कविता सङ्गृहीत छन् । यी सङ्गृहीत कविताहरूमध्येको एक कविता हो शाश्वत आकृति यही कविता नै यस कविता सङ्ग्रहको आवरण पृष्ठमा रहेको छ ।
कवयित्री राधालाई साहित्य मन पर्छ, साहित्यिक रचना लेखेर यसमै डुब्न उनी मन पराउँछिन् । मातृत्वका नयाँ आकाश समातेका छन् राधाका कविताले । मीठो संयोग शीर्षकको कविताभित्र अचानक उठेको समयको यक्षप्रश्नले ढुङ्गा हान्थ्यो मौनताको चुपचाप राशिमा भनिएको छ । नारीवाद र पुरुषवादको द्वन्द्वमा उनका अनुभूतिहरू अल्झिएका छैनन् । उनका कवितामा जीवनको ध्वनि छ । त्यस ध्वनिले आफ्नो माटो, संस्कार, सभ्यता र पसिनालाई बढी स्पर्श गरेको बोध हुन्छ कविता पढ्दै जाँदा । उनले लेखेका कविताहरू मार्मिक, सुन्दर र प्रभावशाली छन् । शैलीमा निजत्व प्रवाहित रहेको पाइन्छ भने चिन्तन पक्ष विशेष देखिन्छ । कविताहरू प्रतीकात्मक छन् । प्राकृतिक र सांस्कृतिक बिम्बहरूले कवितालाई रोचक बनाएको छ ।
अझै बेखबर प्रतीत छन्
असङ्ख्य कान्छाहरू
जसको श्रमको ढाडमा टेकेर
अग्लिरहेछन् फुर्तीबहादुरका महलको धुरी ।
जीवनको गति खोज्न निरन्तर लम्केका गोडा त्यो पर्खाल अगाडि स्तब्ध बनेका छन् त्रासद पर्खाल शीर्षकको कवितामा कवयित्री राधाले लेखेकी छिन् । उनले सिर्जना गरेका कविताहरू यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ । कविको मन अत्यन्त कोमल हुन्छ, संवेदनशील हुन्छ, त्यसैले ऊ सूक्ष्मभन्दा सूक्ष्म कुरालाई नजिकबाट नियाल्न सक्छ । त्यसैले उसले कविता लेख्न सक्छ । राधाले इमानदारीपूर्वक निर्भीकताका साथ आफ्नो सभ्यता र संस्कृतिका साथै यावत् जीवनको जटिलतम गूढ रहस्यलाई प्रकृति, कला, विचारको माध्यमबाट सशक्त रूपमा अभिव्यक्ति दिएकी छिन् । उनले लेखेका कविताहरू स्तरीय र तिख्खर बन्दै गरेका छन् । आफ्ना कवितामा नारी भावनामा रहेका सुन्दर सिर्जनाको अभिव्यक्ति दिँदै भावनात्मक सौन्दर्यमा नै नारीले सुन्दर जीवन प्राप्त गर्ने भाव व्यक्त गरेकी छन् । समाजमा नारीमाथि अनेक किसिमका आक्षेप लगाइन्छ ।
समयको टाँगोमा
यति लामो डोरी टाँग्यो कि उसले
जता हिँडे पनि
जुनकीरीलाई अल्झाई मात्र रह्यो ।
निम्न वर्गको पीडा र सामाजिक असमानताको जाँतोमा पिसिएका पीडित तथा व्यथित वर्गको मर्म एवं संवेदनशीलतालाई कवयित्रीले आफ्ना कविताको कथ्य बनाएकी छिन् । पुस्तौँदेखि गरिबीको भारले थिचिएको निमुखा वर्गको जीवनस्तर कहिल्यै उठ्न नसक्नुमा समाजका जाली, प्रपञ्चकारी र अभिमानीहरूकै भूूमिका रहेको कवयित्रीको ठहर छ । अस्ति जस्तै लाग्छ थुप्रै रहर बन्धकी राखेर रोपेकी थिएँ यिनीहरूसँगै गैह्रीखेतमा सपनाको बीउ भनेरे बलिदानको रङ शीर्षकको कवितामा लेखिएको छ । थला परेपछि रोगको मात्रा ह्वात्तै बढेको छ दायाँबायाँ फर्कंदै दिँदैन भयानक सन्नाटा शीर्षकको कवितामा लेखिएको छ ।
राष्ट्रको अगाध माया गर्ने उनी भावनामा र कर्मशीलतामा नेपाललाई देख्छिन् । राष्ट्रका अङ्ग–अङ्गसित समाहित हुन पुग्दछिन् । कवयत्री राधाका कविता भावनात्मक मात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । राधा कार्की काव्यिक जगत्मा उदयीमान सर्जक हुन् । उनका समकालीन केही कविताहरू समय सान्दर्भिक र बलवान् देखिन्छन् । साँच्चै भन्ने हो भने राधाद्वारा लेखिएका कविताहरूको भाषा सरल छ । सरल शब्दमा उनिएका कविताहरू पढ्नमा जति सजिलो हुन्छ त्यसैगरी बुझ्नसमेत कठिनाइ पर्दैन । á
कृति : शाश्वत आकृति (कविता सङ्ग्रह)
कवि : राधा कार्की
प्रकाशन : २०७८
मूल्य : रु. ३००।–
पृष्ठ : १२७
प्रकाशक : मकालु प्रकाशन गृह