• २ माघ २०८१, बुधबार

जीवन एक, यात्रा अनेक : मीठो यात्राको संस्मरण...

blog

यात्रा– देशदेशावर भ्रमण गर्नु, जीवनको ध्येय उद्देश्य प्राप्तिका लागि गरिने यात्राहरू प्रत्यक्ष रूपले भौतिक यात्रामा पर्छन् भने भित्री आत्मिक शान्ति र अलौकिक जीवन दर्शनका लागि गरिने अध्यात्मिक यात्राले एकै मान्छेको यात्राहरू फरक फरक हुन सक्छन् ।  

मान्छे सामाजिक प्राणी हो र समाज नै बाँच्ने आधार हो । यसै आधारलाई टेकेर भोगेका देखेका यावत् विषयवस्तुहरू उसले साहित्यमार्पmत अभिप्रेषण गर्दछ । यसै प्रक्रियामा कवि ध्रुवनारायण जोन्छेंले साहित्यिक यात्रा थालनी गरेका हुन् । कवि ध्रुवनारायण जोन्छें, गपली वडा नं. ४ भक्तपुरका स्थायी बासिन्दा हुन् । कवि मन भईकन सुुरुवातदेखि नै साहित्य सेवामा लाग्न नसक्नु उहाँको बाध्यता र विवशता थियो । अन्ततः दैनन्दिन्य गुजाराका समस्याबाट मुक्त भएपछि नयाँ पुराना रचनाहरूको सँगालो ‘जीवन एक ः यात्रा अनेक’ ल्याउनु भएको हो । जिन्दगीको एउटा छोटो उद्धरण तलको अंशमा दिइएको छ –

सरल शब्द चयनकासाथ मनमुटु छुने भावनाले ओतप्रोत रचनाहरूमध्ये यस्तै छ जिन्दगी कविता पनि एक हो । 

बिनाजीवन कुनै प्राणीको अस्तित्व रहँदैन । अतः जीवनलाई सबैले माया गर्नु नैसर्गिक स्वभाव नै हो । यस कवितामा कवि जोन्छेंले जीवनको पूरक शरीर (आत्मा÷जीवात्मा)लाई पनि खोजे हुन्थ्यो भन्ने चाहना राखी निम्न हरफहरू कोरेका छन् । तथापि कल्पनातीत प्रेमिकाको खोजी एवं चाहनालाई प्रकट गरेका हुन् कि ः 

मैले सधैँ तिमीलाई जताततै खोजेजस्तै

तिमीले पनि मलाई सधैँसधैँ खोजिदिने भए

कति राम्रो हुँदो होला मेरो पनि जिन्दगानी !

(कति राम्रो हुँदो होला जिन्दगानी, पृ. ९)

अतः जीवन भोगाइको क्रममा– जीवनमा एक पटक कवि नहुने मान्छे हुँदैन भन्ने एक दार्शनिकले मत राखेका थिए । त्यसैगरी “जीवन एक पटक प्राप्त हुने हो । त्यो एकपटक प्राप्त हुने जीवनमा धेरै प्रकारका यात्राहरू देख्नु, भोग्नु मान्छेको नियति हो, भाग्य हो ।” सङ्ग्रहको मन्तव्यमा वरिष्ठ साहित्यकर्मी ध्रुव मधिकर्मीले पोख्नुभएको वाक्यलाई यो कविताले सार्थक रूप दिएको छ भन्दा दुईमत नहोला –

यो कस्तो संसार

जहाँ कलह व्याप्त छ

द्वेष छ, कलह छ, अशान्ति छ

एकअर्काप्रति खिचातानी छ !

(डगमगाइरहेछ संसार, पृ.११)

उपर्युक्त कवितामा कवि जोन्छेंले प्रत्यक्ष महसुस गरेको अनुभवलाई कविता ‘डगमगाइरहेछ संसार’ कवितामा अभिव्यक्त गरेका छन् । संसारभरकै आम मानिसहरूले भोग्नुपर्ने अभाव, महँगी, द्वेष, भोकमरी तथा अशान्तिलाई इङ्गित गर्दै भावहरू पोखेका छन् । 

कुनै पनि कविको प्रमुख विशेषतामा कल्पनाशीलता पनि पर्दछ । यसरी नै कल्पनाले यावत् जीवनका भोगाइ, समाजको दौड, व्यथाकथा र उचाइको उडान गर्ने क्रममा कविबाट निम्न निराशा अभिव्यक्त भएको पाइन्छ ः

नभजस्तो विशाल भए पनि

समुद्रजस्तो अथाह भए पनि

सीमित ठाउँमा जीवनयापन गर्नुपर्छ भने

जीवनको के पो मूल्य हुन्छ र ?

(जीवनको मूल्य,  पृ. ४५)

 फूल, यस्तो लाग्दछ जिन्दगी, कति राम्रो हुँदो होला जिन्दगानी, जीवन एक ः यात्रा अनेकजस्ता उत्कृष्ट कविताहरूको सँगालो यो कृतिलाई भावना प्रधान सङ्ग्रहका रूपमा लिन सकिन्छ भन्नेमा पाठकहरूको पनि दुई मत नहोला । कृतिमा केही मात्रामा शुद्धाशुद्धिका समस्या पनि देखिएका छन् भने केही मात्रामा क्रियापद, काल, नाम– विशेषणजस्ता शब्दहरूको यथारूप÷यथोचित प्रयोगमा भएका त्रुटिहरूको सुधार पनि आवश्यक नै ठहर्दछ । 

यथार्थमा कविको हृदय संवेदनशील छ, आफ्नो समाज अनि देशमा विद्यमान विकृति, विसङ्गति र विडम्बनाहरूप्रति अनिच्छा, तीव्र आक्रोश र सुधारको हुटहुटी बोकेरै अघि बढेका कविलाई आगामी रचना÷कृतिहरूलाई परिष्कृत एवं परिमार्जित रूपमा प्रस्तुत गर्नु हुनेछ भन्ने विश्वास लिँदै शुभकामना भन्न चाहन्छु ।  

कृति जीवन एक : यात्रा अनेक

विधा : कविता सङ्ग्रह

कवि : ध्रुवनारायण जोन्छें

प्रकाशक : अक्षरमार्ग पनौती, काभ्रे नेपाल

प्रकाशन : २०७७  

पृष्ठ :   १६+७६

मूल्य  : २००।–