• १५ चैत २०८०, बिहिबार

सहरमा अभाव गाउँमा बिक्दैन दूध

blog

काठमाडौँ, माघ १७ गते  । दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो । 

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।  

दैनिक पाँच लाख लिटर अभाव

राष्ट्रिय डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बजारमा हाल दैनिक पाँच लाख लिटर दूधको अभाव रहेको जानकारी दिनुभयो । सामान्य अवस्थामा बजारमा दैनिक ३६ लाख लिटर दूधको आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो । 

खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उहाँको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएको र गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूधको अभाव भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीअघि खपत नभएको दूधबाट धूलो दूध उत्पादन गरेर भण्डारण गर्ने गरिएको थियो तर अहिले दूधकै उत्पादन कम भएकाले दुग्ध उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको व्यवसायीले बताउनुभयो । 

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले असोजदेखि फागुनसम्म धेरै दूध उत्पादन हुने समय भए पनि अहिले अभाव रहेको बताउनुभयो । 

दूधको खपत वार्षिक १४ प्रतिशतले बढ्दै गए पनि सो अनुपातमा उत्पादन नबढ्दा बजारमा दूधको अभाव देखिएको उहाँको भनाइ छ । डीडीसीका अनुसार गत वर्ष अहिलेको समयमा मुलुकभर दैनिक एक लाख ८० हजार लिटर दूधको सङ्कलन हुने गरेकामा अहिले घटेर एक लाख लिटरमा झरेको छ । “अघिल्ला वर्ष एक लाख लिटर दूध प्रशोधन गरेर बजारमा पठाउने र बाँकी दूधको धुलो दूध बनाएर चैतदेखि भदौसम्म खपत हुने गरेको थियो । अहिले दूधको अभाव हुँदामा धुलो दूध उत्पादन भएको छैन भने घिउ र बटरको उत्पादन पनि बन्द गरिएको छ,” झाले भन्नुभयो । 

अहिले दूध र दही मात्र बिक्री गरिएको डीडीसीले जनाएको छ । डीडीसीले आफ्ना बिक्री केन्द्रबाट फाट्टफुट्ट घिउ बिक्री गरे पनि बजारमा भने पठाएको छैन । 

भारतबाट तीन लाख लिटर आयात

डीडीसी बजारमा दूधको अभाव रहेकाले तत्कालका लागि उद्योग चलाउन दूध आयात गर्ने अनुमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आग्रह गरेको छ । हाल डीडीसीको दुग्ध कारखाना ५० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको बताइएको छ ।

डीडीसीले गत असोज महिनामा भारतको पटनाबाट एक महिनामा तीन लाख लिटर दूध आयात गरेको थियो । पछिल्लो समय सहकारी संस्थाले आफैँ दूध प्रशोधन गरेर बजारमा पठाउने गरेका छन् । 

वैदेशिक रोजगारीमा जाने बढेकाले पशुपालन घट्दो क्रममा छ । व्यावसायिक रूपमा सञ्चालनमा रहेका ठूला फार्मको सङ्ख्या घट्दै गएको छ । दूधको उत्पादन बढाउन सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन गरे पनि उत्पादन भने बढ्न सकेको छैन । कुल उत्पादन भएको दूध डीडीसीले ३० प्रतिशत र निजी डेरी उद्योगले ७० प्रतिशत सङ्कलन गरेर बजारमा वितरण गर्ने गरेका छन् ।  

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूध उत्पादन भएको थियो । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकामा ७.५ प्रतिशत पशुपन्छी र दुग्ध क्षेत्रको ३.५ प्रतिशत योगदान रहेको छ । 

गाउँमा बिक्री हुँदैन दूध

सहरी क्षेत्रमा दूधको अभाव भए पनि गाउँमा उत्पादन भएको दूध बिक्री हुन सकेको छैन । सहकारी संस्थाले किसानबाट सङ्कलन गरेको दूध स्थानीय बजारमा वितरण हुने गर्छ । सहरी क्षेत्रको दूध बजारमा सहजै आएपछि गाउँगाउँमा सङ्कलन गर्न नजाने गर्दा किसानको दूध बिक्री नभई खेर जाने गरेको हो । 

काभ्रेका किसान हीरालाल सापकोटाले दुर्गम गाउँको दूध बजारमा आउन नसकेको बताउनुभयो । चोकर दानाको मूल्य बढेर दूधको उत्पादनको लागत दिन प्रतिदिन बढ्दै गए पनि दूधको मूल्य नबढ्दा किसान पशुपालनबाट पलायन हुने अवस्था भएको उहाँले बताउनुभयो । गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसक्दा खेर जाने गरेको उहाँले जानकारी दिनुभयो । 

तनहुँस्थित मत्स्यकन्या गाईपालनका सञ्चालक दीपेन्द्र अधिकारीले सहकारी संस्था नभएको दुर्गम ठाउँमा किसानलाई दूध बिक्री गर्न समस्या हुने गरेको बताउनुभयो । सहरी क्षेत्रमा सहकारीले दूध सङ्कलन गरेर बजारमा पु-याउने भए पनि गाउँको उत्पादन बजारसम्म आउन नसकेको उहाँले जानकारी दिनुभयो । उत्पादनको लागत बर्सेनि बढ्दै गए पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको उहाँले जानकारी दिनुभयो ।