• १३ कात्तिक २०८२, बिहिबार

अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात, रमाउँदै पर्यटक

blog

आधार शिविरस्थित पञ्चकुण्ड ताल क्षेत्रमा हिउँमा रमाउँदै पर्यटक । तस्बिर सौजन्यः टीका पुर्जा मगर

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,कात्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् । 

हिमपात कारण आधार शिविर र पञ्चकुण्ड ताल छोपिएको छ । वरपर सबैतिरका डाँडाहरु हिमपातले सेताम्मे भएका छन् । मौरिस हर्जोग पदमार्ग हुँदै तीन दिनअघि आधार शिविरस्थित चार हजार पचास मिटरको उचाइमा रहेको पञ्चकुण्ड तालमा  पुगेका आन्तरिक पर्यटकहरु हिमपातसँगै रमाएका हुन् ।  

आधार शिविरको पदयात्रा लागि बेनीबाट सोमबार चार जना गएका थियौं बेनीकी टीका पुर्जा मगरले भन्नुभयो, ‘‘पहिलो दिन भुस्केट मेलामा पुगेका थियौं । रातभर पानी र हिमपात भयो । एकदिन त्यहीँ बस्यौं । हिजो बुधबार बिहान हिमपात रोकिएपछि हामीहरु आधार शिविरदेखि तल रहेको पञ्चकुण्ड तालमा पुगेका थियौं ।’’ बाक्लो हिमपातका कारण पञ्चकुण्ड ताल हिउँले छोपिएको उहाँले बताउनुभयो । 

ताल वरपर र आधार शिविर क्षेत्र हिउँले छोपिएर सुन्दर देखिएको उहाँले बताउनुभयो । हिमपात भएर चिसो भए पनि हिउँको सुन्दरतामा रमाउन पाउँदा दुःखकष्ट भुलेको मगरले बताउनुभयो । आधार शिविरमा भारी हिमपात भएपछि त्यहाँ पुगेका सबै पर्यटकहरु सुरक्षाकर्मीको सहयोगमा अहिले फर्किएका छन् ।