काठमाडौँ, कात्तिक १३ गते । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले यूएईलाई २३४ रनको चुनौती दिएको छ । कप्तान रोहितकुमार पौडेलले शतकको मद्दतमा नेपालले २३३ रन बनाएको हो । अन्तिम बलमा सबै १० विकेट गुमाएको नेपालले ५० ओभरको समाप्तिमा २३३ रन बनाएको हो ।
दुबई एकेडेमीमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाउनुभयो । एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गर्नुभएको थियो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न जोड्न सक्नुभएन ।

नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पर्नुभयो ।
यूएईले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ । पराजित युएई १७ खेलबाट ६ अङ्कसहित आठौँ तथा अन्तिममा छ ।
१७ खेल सकेको नेपाल १२ अङ्कका साथ सातौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।