• ८ मंसिर २०८१, शनिबार

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

blog

काठमाडौँ,  माघ १६ गते । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ । आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य असर  परेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

रातिको समयमा पनि सोही प्रकारको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टासम्मका लागि सचेत हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका थोरै स्थान,  कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र   बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको  छ ।