• १२ साउन २०८१, शनिबार

ज्ञात अज्ञात शहीदको स्मृतिमा सभा सम्पन्न

शहीदको प्रेरणाबाट समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त : प्रधानमन्त्री

blog

शहीदको सम्झनामा आयोजित स्मृतिसभामा आफ्नो धारणा राख्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : कामठमाडौं महानगरपालिका

काठमाडौं, माघ १६ गते । शहीद सप्ताहको अन्तिम दिन आज (सोमबार) काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।

स्मृतिसभा सुरु हुनुअघि शान्ति वाटिकाबाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो । 

सभामा प्रधानमन्त्री प्रचण्डले शहीदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो । ‘‘शहीदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ ।,’’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।


शान्त र समृद्ध मुलुक निर्माणको दायित्व सबैले लिएर शहीदको सपना पूरा गर्न लाग्नुपर्ने शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवम् महानगरका प्रमुख बालेन्द्र साहले बताउनुभयो । ‘‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, शहीदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना–आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।,’’ प्रमुख साहको भनाइ थियो ।  


स्मृति सभामा सरकारका उच्च पदस्थ अधिकारीसहित महानगरकी उपप्रमुख सुनीता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो ।

माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइँदै आएको छ । विस २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले शहीद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।


यस वर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा शहीदहरुको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृतिसभा गरिएको थियो । ४ शहीदका सालिकमध्ये २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक निर्माण गरिएको हो । यी सालिक महेश तुलाधरले निर्माण गर्नुभएको हो ।

प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ साल माघ १० गतेदेखि १५ गतेबीच ४ जना शहीदलाई प्राण दण्ड दिइएको थियो । त्यो वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।


माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्ति शहीद भएका छन् । ती शहीदको सम्मान १ दिनको कार्यक्रमले सम्भव छैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । शहीद दिवसका दिनमा यही सङ्कल्प गर्ने गरिएको छ ।