• ७ वैशाख २०८१, शुक्रबार

च्याम्पियन अर्जेन्टिना

blog

विश्वकप फुटबलमा अर्जेन्टिनालाई सधैँ उपाधि जितको दाबेदारका  रूपमा लिइन्छ । अर्जेन्टिना अहिलेसम्म विश्वकपका २२ संस्करण भइसक्दा तीन पटक मात्र च्याम्पियन भएको छ । अर्जेन्टिना तेस्रो पटक च्याम्पियन भएको एक महिना भएको छ । अर्जेन्टिनाले विश्वकप फाइनल खेल भने छ पटक खेलेको छ । 

पछिल्लो पटक च्याम्पियन बन्दा अर्जेन्टिनाले फ्रान्सलाई फाइनल खेलको टाइब्रेकरमा ४–२ ले हरायो । सो अन्तिम भिडन्त कडा प्रतिस्पर्धा र नाटकीय मोडले गर्दा विश्वकप इतिहासकै सर्वश्रेष्ठ फाइनल बन्यो । अर्जेन्टिना पटक पटक उपाधि जितको नजिक पुग्यो तर हरेक पटक फ्रान्सले पुनरागमन गर्न छोडेको थिएन । 

खेलमा २–० र ३–२ ले पछाडि परेको स्थितिमा पनि फ्रान्सले खेललाई टाइब्रेकरसम्म धकेलेर मेसी र उनको टिम अर्जेन्टिनालाई सजिलै च्याम्पियन हुन दिएन । त्यसैले फाइनलपछि धेरैले एउटै कुरा भने, अर्जेन्टिना च्याम्पियन भयो तर फ्रान्स, अझ सो टिमका स्ट्राइकर किलियन एमबापेले मन जिते । 

निर्धारित समयको खेल २–२ ले सकिएपछि थपिएको अतिरिक्त समयमा पनि थप १–१ गोल भए । अर्जेन्टिनालाई जिताउन मेसीले दुई गोल गरेका थिए तर एमबापेले आशा मरिसकेको स्थितिमा फाइनलमा ह्याट्रिक गरी वाहवाही कमाए । खेलको पूर्वाद्र्धमा मेसी र एन्जेल डी मारियाले गोल गरेका थिए । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक इमी मार्टिनेज नायक बने । 

यस उपाधिले मेसीलाई विश्वको सर्वकालीन महान् फुटबलर बनायो । सन् १९८६ मा डिएगो म्याराडोना अर्जेन्टिनालाई आफ्नो बलबुतामा विश्वकपको उपाधि दिलाएर विश्व फुटबलमा रातारात चम्किएका थिए । यसपालि मेसीले त्यस्तै खालको प्रदर्शन गरेर आफूलाई अविस्मरणीय बनाए । यति मात्र होइन अर्जेन्टिनाको यो उपाधि म्याराडोनाका लागि श्रद्धाञ्जलि पनि भयो । म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिलो विश्वकप थियो । 

सन् १९८६ मा दोस्रो पटक विश्वकप जित्दा पनि अर्जेन्टिनाले यस पटकको फाइनलमा जस्तै नियतिको सामना गरेको थियो । पश्चिम जर्मनीविरुद्धको सो फाइनल खेलमा जोश लुई ब्रोउन र जर्ज भाल्डानोको गोलले अर्जेन्टिना २–० ले अगाडि थियोे । जर्मनीले दुवै गोलको जवाफ दिएर खेल २–२ को स्थितिमा ल्यायो तर म्याराडोनाको दर्शनीय पासको सदुपयोग गर्दै जर्ज बुराचागाले निर्णायक गोल गरेर अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । 

यसअघि म्याराडोनाले इङ्ग्ल्यान्डविरुद्धको क्वाटरफाइनलमा गरेका दुई गोललाई अहिलेसम्म पनि सम्झना गरिन्छ । म्याराडोनाले हातले गरेको पहिलो गोल ‘ह्यान्ड अफ गड’ गोलका रूपमा प्रख्यात छ । म्याराडोनाको दोस्रो गोल अझै पनि फुटबलप्रेमीको स्मृतिमा ताजै रहेको छ । उनले एक्लै इङ्ग्ल्यान्डका नौ खेलाडीलाई छलाएर उत्कृष्ट गोल गरेका थिए । 

म्याराडोनाकै उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई पनि हराएको थियो । विगतमा ब्राजिलको टिममा पेलेपछि एक खेलाडीले प्रभाव पारेको विश्वकप यो नै थियो । यसकारण सन् १९८६ को विश्वकपलाई म्याराडोनाको विश्वकप भनिन्छ । म्याराडोनाले यसै प्रतियोगिताबाट आफूलाई फुटबलको महान् खेलाडी साबित गरेका थिए । 

अर्जेन्टिनाले आफ्नो पहिलो विश्वकप सन् १९७८ मा जितेको थियो, त्यो पनि घरेलु मैदानमा । अर्जेन्टिनाले यसअघि विश्वकप आयोजना गर्न दाबेदारी प्रस्तुत गर्दा पनि आयोजनाको अवसर प्राप्त गर्न सकेको थिएन तर जब आयोजनाको जिम्मेवारी पायो, अर्जेन्टिनाले ट्रफी घर बाहिर जान दिएन । त्यसबेला सर्वश्रेष्ठ टिमका रूपमा रहेको नेदरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले अर्जेन्टिनाले हराएर पहिलो पटक विश्व च्याम्पियन बनेको थियो । 

यस विश्वकपमा नकआउट प्रणाली थिएन । पहिलो चरणमा विभाजन गरिएका चार समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले दोस्रो चरणमा खेलेका थिए । दोस्रो चरणमा चार–चार टिमको दुई समूह थियो । घरेलु टिम अर्जेन्टिनाले यसै संरचनाको फाइदा उठाएर विवादास्पद रूपमा फाइनलमा स्थान बनायो । दोस्रो चरणमा समूहको शीर्ष टिमले फाइनलमा स्थान बनाउने नियम थियो । ब्राजिललाई निराश पार्दै फाइनलमा पुग्न घरेलु टिमले दोस्रो चरणको अन्तिम खेलमा पेरुलाई ठूलो गोलअन्तरले पराजित गर्नुपर्ने समीकरण बन्यो । अर्जेन्टिनाले पेरुलाई ६­–० ले हरायो पनि तर सबैले यस जितलाई म्याच फिक्सिङको संज्ञा दिएपछि अर्जेन्टिनाले प्रभावशाली जितबाट पनि बदनामी कमायो ।

ब्युनर्स आयर्समा भएको फाइनलमा केम्पसको गोलबाट अर्जेन्टिनाले खेलको ३७औँ मिनेटमा अग्रता बनाएको थियो तर नेदरल्यान्ड्सका स्थानापन्न खेलाडी डिर्क नानिन्गाले गोल गरी खेल बराबर पारे । त्यसपछि निर्धारित समयसम्म थप गोल हुन सकेन भने अतिरिक्त समयमा मारियो केम्पस र डेनियल बर्टोनीले गोल गरेपछि अर्जेन्टिनाले ३­–१ ले फाइनल जित्यो ।

त्यस सफलताको ४८ वर्षपछि अर्जेन्टिनाले तेस्रो पटक विश्व कप उपाधि जितेको छ । यसअघि सन् १९३० को पहिलो संस्करणमै अर्जेन्टिनाले फाइनल खेलेको थियो । सो प्रतियोगितामा सहभागी १३ टिमलाई चार समूहमा वर्गीकरण गरिएको थियो । हरेक समूहबाट शीर्ष स्थानमा रहने चार टिमले सेमिफाइनल खेलेका थिए । अन्तिम चारको भिडन्तमा युगोस्लाभिया आयोजक उरुग्वेसँग नराम्ररी ६–१ ले पराजित भयो । दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६–१ ले नै हरायो ।  

मोन्टेभिडियो स्टाडिओ सेन्टनारियो रङ्गशालामा फाइनल खेल हेर्न ९३ हजार दर्शक उपस्थित थिए । त्यसबेला अर्जेन्टिनाले उरुग्वेलाई सहजै पाखा लगाउने अनुमान गरिएको थियो तर उरुग्वेले घरेलु दर्शक र मैदानको ऊर्जा पाएर अर्जेन्टिनालाई हरायो । उरुग्वे ४–२ ले खेल जितेर पहिलो विश्व कप च्याम्पियन बन्यो । फाइनलमा आफ्नो राष्ट्र पराजित भएपछि क्रोधित अर्जेन्टिनी समर्थकले ब्युनर्स आयर्समा अवस्थित उरुग्वेको राजदूतावासमा हमला गरेका थिए । 

अर्जेन्टिनाले पहिलो संस्करणबाहेक सन् १९९० र २०१४ मा पनि विश्वकप फाइनलमा खेलेको छ । सन् १९८६ मा जितेको उपाधि रक्षा अभियानमा अर्जेन्टिना फाइनलमा पुगेको थियो तर सो संस्करणमा अर्जेन्टिनाको खेलबाट कोही पनि खुसी थिएन । अर्जेन्टिनाको प्रदर्शन तथा फाइनलसम्मको यात्रा निकै आश्चर्यजनक थियो । 

अर्जेन्टिना हरेक पटक भाग्यको साथ पाएर फाइनलमा पुग्यो ।  म्याराडोनाजस्तो खेलाडीको उपस्थितिमा पनि गोलरक्षक सर्जियो गोइकोचियाले अर्जेन्टिनालाई फाइनलमा पु¥याउन महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । पहिलो खेलमै क्यामरुनसँग स्तब्ध भएपछि अर्जेन्टिनाले समूह चरणमा मात्र एक खेल जितेर नकआउटमा स्थान बनाएको थियो । त्यसपछि नकआउटमा युगोस्लाभिया र इटालीलाई टाइब्रेकरमा हराएर अर्जेन्टिना अगाडि बढ्यो । 

फाइनलमा पुग्दा अर्जेन्टिनाका धेरै खेलाडी घाइते र कार्डको प्रतिबन्धमा थिए । पश्चिम जर्मनीको फाइनल यात्रा भने प्रभावशाली थियो । जर्मनी फाइनलमा अर्जेन्टिनालाई हराएर बदला पनि लिन चाहन्थ्यो । फाइनलअघि अर्जेन्टिनाको मनोबल निकै कम भइसकेको थियो । फाइनललाई टाइब्रेकरसम्म लग्ने रणनीतिमा अर्जेन्टिनाले पूरै अवधि डिफेन्सिभ खेल्यो । जसले फाइनल खेल निरस भयो । 

खेल सकिन पाँच मिनेट बाँकी छँदा आन्द्रियज बे्रहमले पेनाल्टीमा गोल गरेपछि अर्जेन्टिनाको पेनाल्टी सुटआउटमा खेल लैजाने इच्छा पूरा भएन । सो भिडन्तमा अर्जेन्टिनाका पेड्रो मोन्जोन रातो कार्ड पाएर विश्वकप फाइनलमा मैदान छाड्ने पहिलो खेलाडी बने ।

सन् २०१४ को विश्वकप फाइनलमा पनि अर्जेन्टिनालाई जर्मनीले नै निराश पारेको थियो । त्यो पनि १–० कै नतिजामा । यस पटक पनि जर्मनी यस प्रतियोगितामा सुरुदेखि नै सर्वश्रेष्ठ टिमका रूपमा प्रस्तुत भएको थियो र मेसी शानदार लयमा हुँदा पनि अर्जेन्टिनाले अन्तिम बाधाका रूपमा रहेको जर्मनीको चुनौती पार गर्न सकेन । २२ वर्षीय स्थानापन्न खेलाडी मारियो गोत्जेले ११३औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिनाको सबै रणनीति असफल भएको थियो ।  मेसीले यस विश्वकपमा सर्वश्रेष्ठ खेलाडी भएर गोल्डेन बल जितेका थिए ।

–प्रणित शाक्य