• १४ कात्तिक २०८२, शुक्रबार

शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर : ७४ जनाले पाए सेवा

blog

शारदा नगरपालिका–१ श्रीनगरमा सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिहरू । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक १४गते ।
सल्यान शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमार्फत ७४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र सहयोग सामग्री प्राप्त गरेका छन् ।

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा, शारदा नगरपालिकाको समन्वयमा आयोजना गरिएको उक्त शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, उपचार तथा सहायक सामग्री वितरण गरिएको हो ।

शिविरमार्फत चार जनालाई ह्विलचेयर, ६ जनालाई अर्थोपेडिक सहायक उपकरण, दुई जनालाई बैसाखी वितरण गरिएको छ भने तीन जनालाई अपरेशनका लागि सिफारिस गरिएको छ । यस्तै १२ जनालाई विशेषज्ञ परामर्शका लागि बोलाइएको आयोजकहरूले जानकारी दिएका छन् ।

शिविरमा आएका सेवाग्राहीहरूलाई शारदा नगर प्रमुख प्रकाश भण्डारीले ह्विलचेयर र बैसाखीलगायतका सहायक सामग्री हस्तान्तरण गर्नुभयो । नगर प्रमुख भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि नगरपालिका निरन्तर सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार र पुनर्स्थापनामा नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ ।

कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीका अनुसार शिविरमा आगोले पोलेर अङ्ग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बाङ्गा भएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बाङ्गो वा कुप्रो भएका, जोर्नी दुख्ने वा सुन्निने समस्या भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस्तै हड्डी पाकेर लामो समयदेखि पीप आइरहने, औँला टाँसिएका वा बढी भएका, कृत्रिम हातखुट्टाको आवश्यकता भएकाहरू, हड्डीको टिबी रोग लागेका, शरीरका जोर्नी बाङ्गा भएका तथा ओठ–तालु फाटेका व्यक्तिहरूको पनि जाँच गरिएको उहाँले जानकारी दिनुभयो ।

यस वर्षको अभियानअन्तर्गत बागचौर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, शारदा नगरपालिका–१ श्रीनगरको बहुउद्देश्यीय भवन शिविर सम्पन्न भएको छ र त्रिवेणी गाउँपालिकाको लुहाममा आजै शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।

गत वर्ष सञ्चालन गरिएको सो अभियानअन्तर्गत दुई सय ८० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ३६ जनालाई सहायक सामग्री वितरण र १६ जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीले जानकारी दिनुभयो ।