रवीन्द्र उप्रेती
बर्दीबास, कात्तिक १४ गते । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभावले देशभर वर्षा सुरु भएसँगै मधेशका किसान चिन्तित भएका छन् । बुधबार मध्यरातदेखि सुरु भएको सिमसिमे वर्षा बिहीबारसम्म बढ्दै गएको छ । दिनभर घाम नदेखिएपछि महोत्तरी र आसपासका जिल्लाका किसान कृषि बालीमा पर्ने प्रभावलाई लिएर चिन्तित भइरहेका हुन् ।
कृषि ज्ञान केन्द्र् महोत्तरीका प्रमुख देवानन्द रायका अनुसार कात्तिके वर्षाले समग्र कृषि क्षेत्रमा प्रतिकूल असर पार्ने सम्भावना छ । अहिले पाक्ने र काट्ने क्रममा रहेको धान बालीमा सबैभन्दा बढी क्षति पुग्ने देखिएको छ । बाला लाग्दै गरेको र फूल फुल्ने अवस्थाका बासमती र कमोद (करियाकामत) जातका धानमा क्षति पुगेको छ । ज्ञान केन्द्रको तथ्याङ्क अनुसार महोत्तरीमा करिब ४० हजार हेक्टरमा धान खेती गरिएको छ । यसमा करिब तीन हजार हेक्टरमा मङ्सिरमा पाक्ने बासमती र कमोद धान लगाइएको छ । वर्षाले यी धानका बोट ढाल्ने, डुबानमा पर्ने र सुक्न नसक्ने अवस्था ल्याउने भएकाले उत्पादन घट्ने अनुमान गरिएको छ ।
वर्षाको असरले आलु, तरकारीका नर्सरी, दाल, तेलहनबाली र उखु खेतीसमेत प्रभावित हुन सक्ने रायले जानकारी दिनुभयो । यो समय हिउँदे बाली लगाउने र आलु रोप्ने मौसम भएकाले बढी पानीले भर्खरै रोपिएका बाली सड्ने र जमिन चिसिन सक्ने भएकाले समयमै हिउँदे बाली लगाउन समस्या हुने छ । यसअघि असोजमा परेको अविरल वर्षाले महोत्तरीमा एक हजार २२५ हेक्टरभन्दा बढी कृषि भूमि डुबानमा पर्दा करिब ९६ करोड ५८ लाख रुपियाँ बराबरका ५७ हजार मेट्रिक टन बाली नष्ट भएको थियो । त्यस बेला मात्रै १० हजार हेक्टरभन्दा बढी धानबाली पूर्ण रूपमा बगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्र प्रमुख रायले भन्नुभयो, “सुरुमा लामो समय पानी नपर्दा जिल्लाका केवल ७७ प्रतिशत खेतमा मात्र रोपाइँ भएको थियो, त्यसमा पनि असोजको वर्षाले क्षति पु¥यायो । अहिले फेरि मोन्था चक्रवातको वर्षाले बाँकी बालीमा असर गर्ने देखिएकाले किसान चिन्तित हुनु स्वाभाविक हो ।” मौसमविद्का अनुसार मोन्था चक्रवातको प्रभाव आगामी शनिबारसम्म रहने अनुमान गरिएको छ । सम्भावित क्षति न्यूनीकरणका लागि खेतमा पानी निकासको व्यवस्था मिलाउन र पाकेका बाली सक्दो छिटो भित्र्याउन किसानलाई आग्रह गरिएको छ ।
जनजीवन प्रभावित
यसैबिच सर्लाही समाचारदाताका अनुसार बेमौसमी वर्षाले सर्लाहीको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षाले खोलामा बाढी आएर कटान तथा डुबानको समस्या सुरु हुने त्रासले नदी तटीय क्षेत्रका स्थानीय त्रसित छन् । मध्य असोजमा आएको भारी वर्षाले यहाँको आधा दर्जन पालिकाका एक हजार छ सय घर डुबानमा परेका थिए । एक महिनापछि पुनः मुसलधारे वर्षा सुरु भएपछि जनजीवन त्रसित बनेको हो । महिनौँपछि खोलाबाट यातायातका साधन सञ्चालन भएको जिल्लाको चुरेवर्ती नारायणखोला, शिर कालिन्जोर, पिपलदमारलगायत क्षेत्रमा यातायातका साधन फेरि ठप्प हुने अवस्था आएको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “एक महिनाअघि डुबानमा परेका दक्षिणवर्ती क्षेत्रमा पुनः डुबानको समस्या सुरु हुने त्रासले स्थानीय चिन्तित बनेका छन् ।” कौडेना गाउँपालिका–६, शिवनगरका युवा दिलीप यादवले लखन्देहीखोलामा बाढी बढ्नासाथ बस्तीमा डुबानको समस्या सुरु हुने बताउनुभयो । मौसममा आएको बदलीसँगै जिल्लाको विद्युत् बुधबारदेखि नै अनियमित बन्दा स्थानीय हैरान छन् । सामान्य वर्षा हुनासाथ आफूहरूको क्षेत्रमा बिजुली अनियमित हुने पुरानै समस्या रहेको र दुई दिनदेखि विद्युत् छिनछिनमै कटौती भइरहेको हरिपुर्वा नगरपालिका–२ का मुकेश झाले बताउनुभयो ।
बेमौसमी वर्षा सुरु भएसँगै जिल्लामा पाकेको धान काट्ने क्रम रोकिएको छ । यहाँ सोमबारदेखि नै मौसम धुम्मिएर घाम नलागेकाले किसानले धान काट्न छाडेका थिए ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                