• १४ कात्तिक २०८२, शुक्रबार

सञ्चालनमा आयो ‘मेमे पोखरी कल्चरल ट्रेल’

blog

नविन कुँइकेल

लमजुङ, कात्तिक १४ गते । पहाडको रोमाञ्चित यात्रा गर्न रमाउने पर्यटकका लागि लमजुङको दोर्दी गाउँपालिकाले चार हजार ४५६ मिटर उचाइमा रहेको ‘मेमे पोखरी कल्चरल ट्रेल’ सञ्चालनमा ल्याएको छ । हिमालचुली र मनास्लु हिमालको काखमा रहेको सुन्दर मेमे पोखरी निकै रमणीय छ । 

यो पदमार्गको यात्रामा गाउँघर र लेकाली गोठमा रहेको संस्कृतिलाई नजिकबाट नियाल्न पाइन्छ । दोर्दी गाउँपालिका–७ मा रहेको मेमे पोखरी पुग्न राजधानी काठमाडौँबाट एक दिनको मोटरयात्रा र तीन दिनको पैदलयात्रापछि पुग्न सकिन्छ । 

गाउँ र गोठमा रहेको संस्कृति प्रवर्धन गर्दै ‘मेमे पोखरी कल्चरल ट्रेल’ प्रवर्धन गरिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार दोर्दी ग्रामीण पर्यटन प्रवर्धन समिति गठन गरेर पर्यटन प्रवर्धन कार्य अघि बढाइएको छ । समितिले ‘मेमे पोखरी कल्चरल ट्रेल’ का लागि १० दिने प्याकेज बनाएको छ । 

दोर्दीको शिरमा रहेको मेमे पोखरी पुग्न पहिलो दिन काठमाडौँबाट दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा वा त्यसपछि हिलेबेँसी क्षेत्रसम्मको करिब १८० किलोमिटर सवारी यात्रा गर्नु पर्छ । त्यसपछि करिब डेढ घण्टाको पैदलपछि खिन्चोक पुगिन्छ । बाह्रपोखरीबाट तेस्रो दिन करिब आठ घण्टाको पैदलयात्रापछि कोम्रोडाँडा र चौथो दिन उक्त क्षेत्रमा अनुकूलताका लागि विश्राम लिइन्छ । पाँचौँ दिन कोम्रोडाँडाबाट करिब सात घण्टाको पैदलपछि मेमे पोखरी पुगिन्छ । 

छैटौँ दिन मेमे पोखरी घुम्ने र सातौँ दिन मेमे पोखरीबाट फर्किएर करिब छ घण्टाको यात्रापछि पौलीडाँडा पुगिन्छ । पौलीडाँडाबाट आठौँ दिन करिब पाँच घण्टाको यात्रापछि खुरुखर्क पुगिन्छ । खुरुखर्कबाट नवौँ दिन करिब नौ घण्टाको यात्रामा तोब्रोस्यो झरना हेर्दै खिन्चोक आइपुगिन्छ । खिन्चोकबाट १० औँ दिन करिब आठ घण्टा सवारी यात्रामा काठमाडौँ पुगिन्छ । पर्यटकलाई नवौँ दिन दुवार–हिलेटक्सार माझगाउँ पुग्ने पदमार्गको पनि पहिचान गरिएको छ ।

गाउँपालिका अध्यक्ष अधिकारीले ‘मेमे पोखरी कल्चरल ट्रेल’ मा प्राकृतिक दृश्यावलोकन साथै भेडीगोठ, भैँसीगोठसँगै मौसम अनुसार गुराँस र अर्किटसँगै रमाउन सकिने बताउनुभयो । यी क्षेत्रमा प्राकृतिक फूल, जडीबुटी, वन्यजन्तु प्रशस्तै देखिन्छन् । डाँडाडाँडै पोखरी पुग्दा र फर्कंदा दुवैतर्फबाट मनमोहक दृश्य देखिने अधिकारीले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेका अनुसार मेमे पोखरीको काखमा घले, गुरुङ, तामाङ, मगर, ब्राह्मण क्षेत्रीलगायतका जातजातिको बसोबास छ । 

यी गाउँमा स्थानीय लोपोन्मुख संस्कृति हेर्न सकिन्छ । उहाँले भन्नुभयो, “यो पदमार्गको प्रस्थानविन्दु खिन्चोकमा होमस्टे छ । दुवार र माझगाउँ क्षेत्रमा पनि होमस्टे छन् । मेमे पोखरीसहित बास बस्ने ठाउँ ठाउँमा धर्मशाला निर्माण गरिएका छन् । पदमार्गको ठाउँ ठाउँमा बास बस्ने व्यवस्था छ । खानेपानीको व्यवस्था छ । अझै पनि पूर्वाधार निर्माणमा पनि जुटेका छौँ ।” पर्यटन प्रवर्धन समिति अध्यक्ष कन्यनाल घलेले जनै पूर्णिमाको दिन मेला लाग्ने मेमे पोखरीमा बाह्रै महिना पर्यटक भित्र्याउन पदमार्ग बनाएको बताउनुभयो । पर्यटनको माध्यमबाट गाउँमै रोजगारीको वातावरण बनाउन खोजिएको उहाँले बताउनुभयो । 

दोर्दी ग्रामीण पर्यटन प्रवर्धन समितिका सल्लाहकार इन्सुहाङ राईले पर्यटकका लागि ‘मेमे पोखरी कल्चरल ट्रेल’ अतुलनीय उपहार भएको बताउनुभयो । लमजुङ र गोरखाका पाँच वटा गाउँपालिकाको समन्वयमा यस क्षेत्रको माथिल्लो क्षेत्रको पदमार्ग पहिचान गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ सञ्चालनमा ल्याइएको थियो ।