• १४ कात्तिक २०८२, शुक्रबार

उद्धार गरिएका बालबालिका परिवारको जिम्मामा

blog

भारतबाट उद्धार गरिएका १६ जना बालबालिकालाई परिवारको जिम्मा लगाइँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक १४ गते । भारतको विभिन्न स्थानमा जोखिममा रहेका नेपालका १६ जना बालबालिकालाई उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ ।  केही महिनाअगाडि मखान कुट्ने कामका लागि एक एजेन्टमार्फत पूर्णिया जाँदै गर्दा भारत बिहारको जयनगरमा भारतीय प्रहरीले नौ जना बालकलाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँको बालकल्याण समितिमा बुझाएको थियो । अन्य बालबालिका कामकाजको खोजीमा भारत गएको समयमा जोखिममा परेका बेलामा तिनीहरूलाई भारतको महाराष्ट, दिल्ली, मुम्बईसहितका विभिन्न स्थानबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बालकल्याण समितिमा बुझाएको थियो । भारतको दिल्लीस्थित किन इन्डिया नामक संस्थाको समन्वय तथा सहकार्यमा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा बालबालिका खोजतलास केन्द्र मधेश प्रदेशले तिनीहरूलाई उद्धार गरेको थियो । 

खोजतलास केन्द्रले सम्पूर्ण प्रक्रिया पूरा गरी बुधबार जनकपुरधाम ल्याएर बिहीबार मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयमा परिवार पुनर्मिलन गराएको राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएका बालबालिकामा १२ देखि १७ वर्षसम्मका रहेका थिए । 

परिवार पुनर्मिलन कार्यक्रममा किन इन्डियाका निर्देशक नवीन जोशीले अहिलेसम्ममा संस्थाले नेपाल र भारतीय दूतावाससँगको सहयोगमा एक हजार महिला तथा बालबालिकालाई भारतको विभिन्न स्थानबाट उद्धार गरी फिर्ता पठाएको बताउनुभयो । उहाँले भारतमा बेचबिखनमा पर्नेमा सबैभन्दा बढी मधेश प्रदेशकै बालबालिका रहने गरेको भन्दै यसको नियन्त्रणका लागि स्थानीयस्तरबाटै सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव यादवले अझै पनि स्थानीय तहमा बालकल्याण अधिकारी नरहेको भन्दै मानव बेचबिखनको नियन्त्रणका लागि सबैको साझा प्रयास आवश्यक भएको बताउनुभयो ।