• ११ मंसिर २०८१, मङ्गलबार

उच्च हिमाली क्षेत्रमा हिमपात

blog

सुदूरपश्चिम ब्युरो 

धनगढी, माघ ११ गते । सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मङ्गलबार हिमपात भएको छ। सुदूरपश्चिममा बाजुरा, दार्चला, बझाङ, बैतडी र डडेल्धुरालगायतका क्षेत्रमा हिउँदमा हिमपात हुने गरेको छ। सुदूरपश्चिमका तराईका दुई मात्र जिल्ला कैलाली र कञ्चनपुरमा समेत बिहानदेखि वर्षा भइरहेको छ।

यस पटक डडेल्धुराबाहेकका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। बाजुरा, बझाङ, अछाम र डोटीमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपात पर्न सुरु भएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार खप्तडमा मङ्सिरको अन्तिम सातादेखि हिमपात हुने गरेको भए पनि यस पटक माघमा आएर हिउँ पर्न थालेको छ। उहाँले भन्नुभयो, “यो पटक पहिलाजस्तो बाक्लो हिउँ पनि परेको छैन फाटफुट रूपमा परिरहेको छ। बिहानदेखि अहिलेसम्म डेढ फिट मात्र हिउँ परेको छ।” 

बाजुरा समाचारदाताका अनुसार बाजुरामा सोमबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ। बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिकलगायतका स्थानीय तहमा सोमबार राति परेको वर्षासँगै हिमपात भएको हो। 

हिमपातका कारण चिसो बढ्न थालेको छ। बाजुराका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिकाका अग्ला स्थानमा पनि हिमपात भएको छ। बडिमालिका र बूढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखमा बाक्लो हिमपात भएको छ। बडीमालिका नगरपालिका–७ वडाध्यक्ष धर्म पाध्याका अनुसार हिमपात बढ्दै गएमा भोलिसम्म मार्तडी–कोल्टीको सडक यातायात अवरुद्ध हुन सक्छ।

हिमपात भएपछि किसान खुसी

बाजुरामा विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान भने निकै हर्षित छन्। हिउँदमा लगाएको गहँुबाली सुक्नै लागेको समयमा वर्षासँगै हिमपात भएपछि तरकारी तथा गहुँबालीका लागि सिँचाइमा ठूलो राहत मिलेको भन्दै किसान हर्षित बनेका छन्। बूढीनन्दा नगरपालिका–७ का धनवीरे रोकायाले, हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइ नभएर सुक्नै लागेको समयमा पानीसँगै हिमपात भएपछि गहुँखेतीलाई निकै राहत पुगेको बताउनुभयो।

उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँ खेती पानी नपरेर सुक्न लागेको थियो। अहिले पानीसँगै हिमपात भएपछि अब भने हिउँदमा मेहनत गरेको खेर नजाने आस लागेको छ।” बाजुराका अधिकांश क्षेत्रमा आकाशको पानीको भरमा खेती गर्ने गर्छन्। 

अमरगढी समाचारदाताका अनुसार मध्यपहाडी जिल्ला डडेल्धुरामा तीन महिनापछि मात्रै हिउँदे वर्षा भएको छ। वर्षा हुँदा कात्तिक महिनामै हिउँ पर्ने महाभारत पर्वत क्षेत्रलगायत यहाँका अग्ला पहाड जङ्गल क्षेत्रमा यस वर्ष अहिले माघमा आएर मात्रै हिमपात भएको छ। गत वर्ष भने छ पटकसम्म डडेल्धुराका विभिन्न क्षेत्रमा हिमपात भएको थियो। 

यस वर्ष भने गत कात्तिक १ गते छिटपुट वर्ष भएको थियो। त्यस यता भने वर्षा नै भएको थिएन। तीन महिना बढी समयसम्म वर्षा नहुँदा हिउँदे खेतीपातीमा असर पुगेको थियो। ढिलै भए पनि वर्षा हुँदा हिउँदे बाली सप्रिने भन्दै किसान हर्षित भएका छन्। 

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारका अनुसार डडेल्धुरामा मङ्गलबार बिहान ८ः४५ को रेकर्डअनुसार ५.४ मिलिमिटर वर्षा भएको छ। महाभारत पर्वत क्षेत्र तेले लेक, सुग्गाघाणा, अनारखोली क्षेत्रमा हल्का हिमपातसमेत भएको छ। मङ्गलबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको छ। वर्षा नहुँदा हिउँदमा लगाइने फलफूलका बिरुवासमेत किसानले रोप्न सकेका थिएनन्। 

ढिला गरेर वर्षा भएपछि अब किसानले ओखर, किभीलगायतका फलफूल लगाउने तयारी थालेको किसान धनबहादुर भाटले बताउनुभयो। वर्षा र हिउँ परे माघ, फागुन महिनामा बर्खे फलफूलका बोट बिरुवा समेत किसानले रोप्ने गरेको उहाँको भनाइ छ। सुन्तला, कागती, मौसमीलगायतका फलफूलका बोटबिरुवा समेत माघ, फागुन महिनामा किसानले रोप्ने गरेको उहाँले बताउनुभयो। 

लामो समय वर्षा नहँुदा पानीका मुहानहरूमा पानी घट्दै गएको थियो। हिउँदे वर्षा नभए एवं हिमपात नभए डडेल्धुरामा चैत महिनादेखि खानेपानीको समेत अभाव हुने गरेको छ। हिउँदमा वर्षा र हिमपात भए पानीका मुहान नसुक्ने र पानीको अभाव हुँदैन। चैत, वैशाख महिनामा लाग्ने डढेलोसमेत कम लाग्ने जिल्ला प्राकृतिक विपत् व्यवस्थापन संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो। 

अछाम समाचारदाताका अनुुसार हिउँदे वर्षा सुरु भएसँगै अछामका अन्न, दाल र तरकारी बालीका किसानहरू खुसीसँगै उत्साहित भएका छन्। दुःख गरेर लाएको गहुँ, जौ, तरकारी र मसुरोलगायतका बाली सुक्न लागेको अवस्थामा पानी पर्न थालेपछि कृषकमा खुसियाली छाएको हो। निकै श्रम गरेर लाएको खेतीपाती पानी परेसँगै फस्टाउने आकलन कृषकको छ। मङ्गलसेन नगरपालिका–६, 

तेसिङ्गेका देवीराम भण्डारीले भन्नुभयो, “गहुँ सुक्न लाग्यो अब बीउ पनि आउँदैन होला भन्ने चिन्ता लागेको थियो, पानी प-यो अब केही आस लागेको छ।”

तुर्माखाँद गाउँपालिका–८ का वडाध्यक्ष निरकबहादुर शाहीका अनुसार धेरै दिनको मेहनत र दुःख गरेर लाएको खेती सुक्ने अवस्थामा पानी पर्न थालेपछि कृषक हर्षित भएका छन्। सिँचाइको अभाव झेलिरहेका यहाँका कृषक आकाशेपानीले बालीनाली सिञ्चित हुने भएपछि राम्रो फल लाग्ने आस गरेका छन्। पानी अभावमा सुक्खा भएको माटो आकाशेपानीले भिज्ने र बालीलाई राम्रो हुने अपेक्षा कृषक रुद्र विकको भनाइ छ। 

सोमबार रातिबाट पानीसँगै अछामका उच्च लेकाली भेगमा हिमपात जनजीवन प्रभावित भएको छ। अछामको खप्तड, रामारोशन, मेल्लेखलगायतका उच्च स्थानमा हिमपात हुन थालेको हो। यहाँका अग्ला स्थानमा हिउँ परिरहेको छ रामारोशनका गङ्गा कुँवरले जानकारी दिनुभयो।

पानी र हिमपातसँगै चिसो अत्यधिक बढेकाले मानिस र पशुपन्छीलाई बाहिर निस्कन समस्या भएको छ। धेरै लामो समयपपछि पानी परेकाले दुई/तीन दिनसम्म लगातार पर्दै जाने कतिपय स्थानीयले अनुमान गरेका छन्। यस्तै पानी पर्न थालेपछि अछाममा रहेको केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत गएको छ। बिजुली नहुँदा सरकारी, बैङ्किङ र व्यक्तिगत काम प्रभावित भएका छन्।