• १६ चैत २०८०, शुक्रबार

सुनकोशीमा रोकिएन अवैध उत्खनन्

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, माघ ११ गते । सुनकोशी गाउँपालिका ओखलढुङ्गामा खुलेआम नदी पैदावरको अवैध उत्खनन् भईरहेको छ । सुनकोशी नदी, मोलुङ खोला लगायतका नदी नालाहरुमा अवैध रुपमा खुलेआम ढुङ्गा, गिटी, बालुवाको जथाभावी उत्खनन् भईरहेको हो । 

गाउँपालिकाको वडा नं.१, २ कोे सुनकोशी नदी क्षेत्रमा र मोलुङ खोलाबाट खुलेआम व्यवसायीले गिटी बालुवा संकलन गरेर विक्रि गरिरहेको स्थानियले बताएका छन् । चार वर्ष देखी ट्याक्टर  व्यवसायिले अवैध रुपमा खुलेआम नदिनालाको गिटी बालुवा संकलन गरेर २५ सय देखी पाँच हजारसम्म प्रति ट्याक्टर  विक्रि गरिरहेका छन् । 

सुनकोशी नदी र मोलुङ खोला बाट दैनिक आधा दर्जन ट्याक्टर व्यवसायिले गिटी बालुवा संकलन गरेर विक्रि गर्ने गरेको स्थानियले जनाएका छन् । भूकम्प पीडित नागरिकहरुको निजि आवास पुन निर्माणका लागि गाउँपालिकाले पुन निर्माण अवधिभर निशुल्क नदिजन्य पदार्थको उत्खनन् साथै संकलन गर्न पाउने व्यवस्था गरेको थियो । 

अहिले राष्ट्रिय पुन निर्माण प्राधिकरण बाट निजि आवास पुन निर्माणको काम सकिए पछि पनि निरन्तर व्यवसायीहरुले नदी जन्य पदार्थको अवैध उत्खनन् गरिरहेका हुन् । भूकम्प पीडित नागरिकलाई सहुलियतका लागि गाउँपालिकाले पुनः निर्माण अवधिभरका लागि मात्र निःशुल्क गिटी, बालुवा संकलनको व्यवस्था गरेको थियो । 

नदी जन्य पदार्थको अवैध रुपमा भईरहेको उत्खनन्का विषयमा अनुगमन गरिने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले बताउनुभयो । 

गाउँपालिका क्षेत्र भत्रिका कुनै नदीनालाहरु बाट गिटी बालुवा संकलनका लागि ठेक्का नभएको र कतै अवैध रुपमा उत्खनन्, संकलन भईरहेको भए करको दायरामा ल्याईने र नियम संगत गरिने प्रमुख प्रशासकिय अधिकृत कार्कीको भनाई छ । 

सुनकोशी गाउँपालिकाले नदी जन्य पदार्थ संकलनका लागि ठेक्का नलगाउदा लाखौ राजस्व गुमिरहेको छ ।