• ११ असोज २०८१, शुक्रबार

टेकु अस्पतालबाट दिइने सेवाको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की

blog

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्की । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १० गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले सरुवा रोगसम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको जानकारी दिनुभयो । राज्यमन्त्री कार्कीले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोगसम्बन्धी अस्पतालहरूको सेवा विस्तार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरू पालिकास्तरमा बनाउन आवश्यक रहेको धारणा औँल्याउनुभयो ।


‘‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोगसम्बन्धीका अस्पतालहरू हुन जरुरी छ ।,’’ राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘त्यस्ता प्रकोप धान्नसक्ने जोखिम उठाउनसक्ने अस्पतालहरू हुन आवश्यक छ । यो हामीले बनाउन सक्नुपर्छ । त्यसको लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रीकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहने छौँ । हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेण्डा बोकेर अघि आएका छौँ ।’’

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।