• ११ मंसिर २०८१, मङ्गलबार

अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

blog

फाइल तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, माघ ८ गते । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले रुपन्देहीको सबैभन्दा जेठो अस्पताल भैरहवास्थित भीम अस्पताललाई करिब ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

अस्पताललाई हस्तान्तरण गरिएका ती उपकरणमा अत्याधुनिक एउटा अल्ट्रासाउण्ड मेशिन र दुईवटा इसीजी मेसिन छन् । सञ्चालनका लागि ती उपकरण राखिएका कार्यकक्षको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले उद्घाटन गर्नुभयो । 

स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले अस्पतालमा उपचारार्थ आउने बिरामीले स्वास्थ्य जाँच उपकरणको अभावमा उपचार गर्नेदेखि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

“उपलब्ध गराइएका यी उपकरणको सही सदुपयोग गर्दै सञ्चालन र संरक्षण गर्ने जिम्मेवारी अव अस्पताल प्रशासनको हो” न्यौपानेले भन्नुभयो, “हामी अस्पताललाई अन्य सामग्री पनि सहयोग गर्न तयार छौँ, सेवाग्राहीले प्रत्यक्ष लाभ पाउन सकुन् ।” भीम अस्पताललाई अत्यन्त आवश्यक परेको फोहर प्रशोधन मेसिन उपलब्ध गराउन करिब डेढ करोड रुपियाँको माग गरिएको उहाँले बताउनुभयो ।

वि.स. १९९० मा स्थापना भएको यो अस्पताल जिल्ला अस्पताल हो । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले लायन्स क्लबले उपलब्ध गराएका स्वास्थ्य उपकरण तत्कालै सञ्चालनमा ल्याइने र यसबाट सुलभ शुल्कमा सर्वसाधारणले सेवा पाउने बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवालगायतका विभिन्न परीक्षणका सेवा बाहिरभन्दा धेरै सुलभ र विशेषज्ञबाट उपलब्ध गराउने गरिएको छ ।

अस्पतालमा दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म बिरामी ओपिडीमा आउने गर्छन् । प्रयोगशालाको सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजारभन्दा माथि छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले उपलब्ध गराइएका उपकरण सही सदुपयोग दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व गृहमन्त्री खाणले भीम अस्पताललाई सुविधा सम्पन्न बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।