• १० मंसिर २०८१, सोमबार

जोनापुरको भलमन्सा भूमिकामा सीता चौधरी

blog

गोदावरी ८, जोनापुर गाउँको भलमन्सामा निर्वाचित सीता चौधरी ।

अविनाश चौधरी

धनगढी, माघ ७ गते । पुरुषले मात्रै गाउँ, समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै कैलालीमा महिलाले भलमन्साको जिम्मेवारी लिन थालेका छन् । गाउँ चलाउन महिला पनि सक्षम रहेको सन्देश दिदैं उहाँहरु भलमन्साको भूमिकामा आउन थाल्नुभएको हो । 

विगतमा पुरुष मात्रै भलमन्सा बन्ने मान्यता स्थापित थियो । तर पछिल्लो समय महिला पनि भलमन्सा बन्न थालेका छन् । गोदावरी नगरपालिका –८ जोनापुरमा सीता चौधरी चुनावी प्रतिस्पर्धाबाट दोस्रो कार्यकालका लागि भलमन्सामा निर्वाचित हुनुभएको छ । उहाँले ६५ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धी भागीराम चौधरीलाई पराजित गर्नुभयो । सो गाउँमा भलमन्साको आकाङ्क्षी दुई जना भएपछि निर्वाचन गरिएको थियो । 

घोडाघोडी नगरपालिका –१० लठैया गाउँको भलमन्सामा सुनीतादेवी चौधरी सर्वसम्मत चयन हुनुभएको छ । यसअघि पनि सो गाउँको भलमन्सामा महिला नै रहनुभएको थियो । अघिल्लो भलमन्सा इन्द्रादेवी चौधरीको कार्यकाल सकिएपछि यस वर्ष आफूले जिम्मेवारी पाएको भलमन्सा चौधरीको भनाइ छ । सो गाउँमा एक व्यक्ति दुई वर्षसम्म मात्रै भलमन्सा बन्न पाउने नियम बनाइएको छ । 

नियमानुसार अघिल्लो महिला भलमन्सा दुई वर्षसम्म लगातार भलमन्सा भएर गाउँमा काम गरेपछि यस वर्ष पनि गाउँको भेलाले सर्वसम्मत रुपमा अर्का महिलालाई भलमन्साको जिम्मेवारी दिएको स्थानीय श्रवण चौधरीले बताउनुभयो । यस्तै, धनगढी उपमहानगरपालिका –११ बाँसखेडामा पनि यस वर्ष भलमन्सासहित अन्य नेतृत्वमा पनि महिला नै चयन गरिएको छ । 

सो गाउँवासीको भेलाले गीता चौधरीलाई भलमन्साको जिम्मेवारी सुम्पेको हो । यस्तै, चौकीदार चिरक्याको जिम्मेवारी इन्दिरा चौधरीलाई दिइएको छ । यसअघि, बाँसखेरामा पुरुषहरुले भलमन्साको भूमिका निर्वाह गर्दैआएका थिए । गाउँघरको नेतृत्व गर्दै घरभन्दा बाहिर धेरै दौडधुप गर्नुपर्ने कारणले पुरुषहरुलाई भलमन्सा बनाउने गरिएको थियो । तर हाल आएर गाउँको नेतृत्व महिलाले पनि गर्न सक्छन् भन्ने बुझाइ बढ्दैगएको पाइन्छ । 

यसैबीच धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँको भलमन्सामा सरोज चौधरी लगातार २८ औं पटक चयन हुनुभएको छ । गाउँको नेतृत्व गर्नका लागि थारु समुदायमा अहिले भलमन्सा (बडघर) चयनको कार्य भइरहेको छ । भलमन्साले विकासदेखि लिएर भोज, भतेरका कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका छन् ।