• १२ वैशाख २०८१, बुधबार

राष्ट्रपतिद्वारा नेपाली मौलिक गीत, सङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड

blog

काठमाडौं, माघ ७ गते । नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई २०७८ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीकाे अवसरमा शुक्रबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको हो । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले मौलिक गीत/सङ्गीतको संरक्षण तथा विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीत/सङ्गीतले नेपालको भौगोलिक विविधताकोसमेत प्रतिनिधित्व गर्ने र विश्वमा रहेका नेपालीहरुबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्नेसमेतले राष्ट्रपति भण्डारीले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपतिको हातबाट कलाकारहरू मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८ प्रदान गरियो ।

राष्ट्रपति भण्डारीले कलाकारहरू एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा देबेन गिरी, दीपक शर्मा कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, लोक गायिका देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार, चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार तथा आशिष् सचिन गौतमलाई नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको बताउनुभयो । उहाँले नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रूपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएकोमा जोड दिनुभयो ।