• १२ असार २०८१, बुधबार

चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाइ

blog

चोरी पैठारी रोक्न कडाइ गरिएको जमुनाहा नाका । तस्विरः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, माघ ५ गते । नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको बताउनुभयो । 

उहाँले अवैध चोरी पैठारी रोक्न जिल्लाका विभिन्न नाकामा सशस्त्र द्वन्द्वको बेला विस्थापित भएका छोटी भन्सारलाई फेरि स्थापना गर्ने प्रक्रिया पनि शुरु गरिएको बताउनुभयो । 

छोटी भन्सार नहुँदा पनि लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको प्रहरीको भनाइ छ । 

नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम प्रहरी नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो । उहाँले तीन दिनमै पाँच लाखभन्दा बढीको अवैध कपडा बरामद गरिएको बताउनुभयो । 


चिनीको चोरी पैठारी धेरै

पछिल्लो समयमा आएर भन्सार शुल्क बढी हुने सामग्रीको सीमा पारीबाट अवैध चोरी पैठारी बढ्दै गएको छ । नेपालगञ्ज भन्सारबाट चिनीको आयात कोटा प्रणालीमा हुने भएपछि चिनीको चोरी, पैठारी सबैभन्दा बढी भइरहेको पाइएको छ । चिनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि चिनीको चोरी, पैठारीमा वृद्धि भएको हो । 

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जुन जुन वस्तुमा भन्सार महसुल बढी हुन्छ, त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुने गरेको बताउनुुभयो । 

भारतले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगञ्ज भन्सार हुँदै करिब ५०० मेट्रिक टन चिनी नेपाल भित्र्याउने गरेको छ तर पनि नेपाली बजारमा भारतीय चिनी छयाप्छयाप्ती देखिएको छ । पटक पटक प्रहरीले अवैध चिनी बरामद गर्दै आएको छ । 

गत महिना मात्रै नेपालगञ्जस्थित बजारबाट ४२० बोरा अवैधरूपमा ल्याइएको चिनी प्रहरीले बरामद गरेको थियो । करिब २१ टन चिनी २२ लाख रुपियाँमा लिलामी भइसकेको भन्सार कार्यालय, नेपालगञ्जले जनाएको छ ।

सूचना अधिकारी शर्माका अनुसार चिनीबाट गत आर्थिक वर्षमा मात्रै एक अर्ब १४ करोड राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५० करोड रुपियाँ राजस्व उठेको छ ।

यसबाहेक गहुँ र मैदाको चोरी पैठारी पनि धेरै हुने गरेको पाइएको छ तर गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको र कोटा प्रणाली दिने सूचना आएको भन्सार कार्यालयले जनाएको छ । 

गहुँको कृषि शुल्क नौ प्रतिशत छ । मैदाको भन्सार शुल्क १० प्रतिशत छ । चोरी गरेर ल्याएको करिब २४ टन गहुँ गत कात्तिकमा प्रहरीले डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो ।

यो बाहेक कपडा पनि धेरै ठूलो सङ्ख्यामा अवैध रुपमा भारतबाट आयात हुने गरेको छ । प्रहरीले हरेक वर्ष सबैभन्दा बढी कपडा नै बरामद गर्ने गरेको जनाएको छ ।