• १० मंसिर २०८१, सोमबार

सञ्चित हुँदै भूकम्पीय शक्ति

blog

काठमाडौँ, माघ १ गते । जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौँको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । 

उहाँले प्रस्ट्याउनुभयो, “काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।” 

त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताउनुभयो । उहाँका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ । त्यसको असर काठमाडौँमा पनि प-यो तर काठमाडौँदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् । 

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ । 

काठमाडौँमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए । अब आउने अनुमान गरिएको भूकम्प काठमाडौँ र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउनुुहुन्छ ।

 तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौँ केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौँमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ । 

गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । उहाँले यसअघि काठमाडौँमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गर्नुभएको छ । उहाँका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौँ आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो । 

मध्य क्षेत्रसँगै गोरखादेखि पश्चिमतर्फको नेपालको भू–भागमा पनि सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । भारतीय प्लेटले युरासियन प्लेटलाई तल पारेर सर्नेक्रममा गोरखादेखि भारतको देहरादुनसम्मको भू–भागमा जम्मा भएको शक्ति बाहिर निस्कनेगरी त्यस भेगमा अर्को भूकम्प जान सक्ने अनुमान भूकम्पविद्हरूले गरेका छन् ।

नेपालको पूर्वतर्फ पनि करिब पाँच सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । तथापि त्यस क्षेत्रमा मध्यमस्तरका भूकम्प दोहोरिएकाले उपत्यकाभन्दा जोखिम कम रहेको अनुमान गरिन्छ ।