ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २८ गते । आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्वारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाइ गरेर पाहुनाको स्वागत गरेका छन् ।
पुस २८ देखि माघ ८ गतेसम्म बेनीको खुलामञ्चमा सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले सङ्घले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ सञ्चालन गर्न लागेको सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवर्धन र सम्भावनाहरुको उजागर गर्न आयोजित महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भेषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्याली निकालिने आयोजकले जनाएका छन् ।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।
महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिता समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरुको स्टलहरु समेत राखिनेछन् ।
महोत्सवमा बेनीको पुरानो हनुमान नाच देखाउने तयारी गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सुवबिन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङ्गेतिक प्रस्तुति रहने महोत्सवलाई सङ्गीतमय बनाइने भएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड बराबरको व्यावसायिक आर्थिक कारोबार हुने सङ्घले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।