• १० मंसिर २०८१, सोमबार

बनेपाकाे ऐतिहासिक माैलिकताकाे परिचय दिन महोत्सव हुँदै

blog

बनेपाकाे पूराना केही तस्बिरहरू ।

केशवराज पौडेल

काठमाडौँ, पुस २७ गते । प्राचीन सहरको रुपमा परिचित बनेपा ( भ्वतः)को ऐतिहासिकता चिनाउन माघे संक्रान्तिको दिनमा सांस्कृतिक महोत्सव हुने भएको छ । दरबार, चोक, मन्दिर र वनको आफ्नो महत्व भए पनि प्रचार अभावले ओझेलमा परेपछि यहाँका युवाले बनेपालाई चिनाउन महोत्सव गर्न लागेका हुन् । 

पूर्वमा ’रक्तचन्दन’ भनिने चण्डेश्वरी जङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ किलोमिटरमा अवस्थित ऐतिहासिक सहर भएको इतिहासकार ज्ञानकाजी मानन्धरले बताउनुभयो । 

पूर्व समुद्री सतहदेखि चार हजार ८०० फिट उचाइमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा हो । काभ्रे जिल्लाको मात्रै नभएर पूर्वी नेपाल जाने ढोकाको परिचय पाएको बनेपा हो ।

यस नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुँदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला, पहाड र पर्वतसहित ससाना गाउँले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा छ । 

बनेपाको प्रचार विश्वसामु चिनाउन महोत्सव आयोजना गर्न लागेका युवा उद्यमी मञ्च काभ्रेका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय तह, संघ संस्था उद्योगी व्यापारीको सहयोगबाट महोत्सव आयोजना गर्न लागेको बताउँदै यसले बनेपालाई आन्तरिक र बाह्य पर्यटक आकर्षण गराउने आधारशिलाको रुपमा स्थापना गर्ने दाबी गर्नुभयो । 

बनेपा शब्दको आफ्नो महत्व छ । नेपालभाषामा ‘बने’ ले व्यापार र पा’ले बस्ती भन्ने बुझाउँछ । त्यसैले बनेपा व्यापारीहरूको थलो रहेको यसको सांस्कृतिक पक्ष निक्कै बलियो रहेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको दाबी छ । 

बनेपा शब्दको व्युत्पति र यसको इतिहास

बनेपा नगरपालिकाको वेभसाइटमा बनेपालाई वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै ‘बनेपा’ हुन आएको हो । 

नेवाः समुदायमा यस सहरलाई भोंदे अथवा भ्वतः पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वतः भनिएको हुनुपर्छ । बनेपालाई ’भुजः’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउँदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ’ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउँ किरातकालमा नै गाउँका रूपमा विकसित भइसकेको हुनुपर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, आएका बस्तीहरूले ती बस्तीहरू किराँतकालीन हुन् भन्ने बुझाउँछन् ।


राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ’बनिंयप्य’ उल्लेख छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई ’विनयापुरी’ उल्लेख भए अनुसार यसको ऐतिहासिकतालाई थप अघि बढाएको उपप्रमुख विमला सापकोटाले बताउनुभयो ।

बनेपा निर्माण हुँदाको रूप

बनेपामा पहिले ‘भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपा वरिपरिका स–साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नयाँ बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा–एउटा दाफा भजन हुन्थे । 

यस ठाउँका मानिसहरू बिहान–बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । बेलुका पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउँथे । तर हाल केही पोखरीहरू सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् ।   

                        

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहाँ नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए ।

यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपा नगरी लक्षणयुक्त छ भनी बुढापाकाहरू भन्दछन् । शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउँका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू

‘गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलट हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । 

वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उहाँको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुपर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४–५ वर्षसम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो विद्राेह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे । 

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्थापन गर्नुका साथै विद्वानहरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वर मन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । 


मुगल सम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथ मन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष पशुपति मन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।

महोत्सवमा यसरी चिनाउँदैछ प्राचीनता

बनेपामा माघे संक्रान्तिका दिनमा हुन लागेको महोत्सवले बनेपालाई सांस्कृतिक सहरको रहेको पुष्टि गरेकाले संरक्षित सम्पदा क्षेत्रको रुपमा अघि बढाउन माग गरेको छ । 

महोत्सवमा लायकू दरबारमा सांस्कृतिक बाजागाजा, लाय्कु डबली र चोकमा सांस्कृतिक स्थानीय नाचगान, पोखरी गल्ली चोकमा बनेपा चिनाउने फोटो प्रदर्शनीको तयारी छ । 

हरेक टोलमा नेवारी खानाको स्टलसँगै बनेपा चिनाउने किताब राखिनेछ । बहिबहमा रन्जना लिपी लेखन, बाखः न्यनेगु वा कथा सुनाउने कार्यक्रम भने थानपती मन्दिरमा हुनेछ । चोक र बाटोमा स्थानीय उत्पादनको प्रर्दशनी गरिने र नेवाः सुकुल भोज भने पोटे गुठीमा हुनेछ ।