• ११ मंसिर २०८१, मङ्गलबार

साङ्गीतिक क्षेत्रका नक्षत्र सङ्गीतकार बजगाईं

blog

काठमाडौँ, पुस २६ गते । राजेन्द्र बजगाईं नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो। बर्दिया, बढैया तालका बासिन्दा बजगाईंको कर्मथलो राजधानी काठमाडौँ हो। 

गुरु तिलकसिं पेलासँग प्रशिक्षित उहाँको सान्निध्य गुरु गुरुदेव कामतसँग पनि भयो। कामतसँग प्रशिक्षण लिएपछि उहाँ मूलधारको सङ्गीतमा देखा पर्नुभयो। आफ्नो क्षमता थप निखार्न बजगाईंले गुरु चण्डीप्रसाद काफ्लेसँग अध्ययन गर्नुभयो। साङ्गीतिक क्षेत्रमा निखार आएपछि बर्दिया फर्केर उहाँले साधना सङ्गीत प्रशिक्षण केन्द्र स्थापना गर्नुभयो। 

बहुप्रतिभाशाली बजगाईं सङ्गीतकार मात्र नभई गायक, रचनाकार र सङ्गीत संयोजनमा समेत पोख्त हुनुहुन्छ। उहाँले नेपालका अधिकांश लोकप्रिय गायक, गायिका, रचनाकारसँग काम गरिसक्नुभएको छ। उहाँको पहिलो कोसेली ‘कसले चो¥यो ओठको लाली’ बोलको गीत २०६४ सालमा बजारमा आएको हो। 

आधुनिक, देशभक्ति, लोक, पप, मध्यम शास्त्रीय, बालगीत, भजन, चलचित्र गीत, रेडियो जिङ्गल, विज्ञापनलगायत विविध विधामा उत्तिकै सिद्धहस्त बजगाईंले नेपाली, हिन्दी, थारू तथा भोजपुरी भाषाका गीतमा सङ्गीत भरिसक्नुभएको छ।

विशेष गरी ‘टेन्डर’ भन्ने बोलको गीतबाट उहाँ सफलताको शिखरमा पुग्नुभएको हो। ‘टेन्डर’ अपवादमा परे पनि उहाँका धेरै गीत फ्युजनमै रहेका छन्। 

जाला जोबन, टेन्डर, फूल फुल्यो पारि, चिनी अमिलो आदि उहाँका मुख्य लोकप्रिय गीत हुन्। धेरै गीतमा बजगाईंले आफ्नै आवाज भर्नुभएको छ भने केहीमा सङ्गीत संयोजन गर्नुभएको छ। 

उहाँ बर्दियाली कलाकार समाज, सङ्गीतकर्मी सङ्घ नेपाल, रोयल्टी सङ्कलन समाज नेपाल, गीतकार, सङ्गीतकार सङ्घ, प्रस्तोता समाजलगायत नेपाली कलाकारको हकहितका लागि बोल्ने सङ्घसंस्थामध्ये राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा अध्यक्षका रूपमा रहिसक्नुभएको छ।