• २२ कात्तिक २०८२, शनिबार

समाज परिवर्तनको कथा ‘इन्दिरा धिमे मैंचा’

blog

काठमाडौँ, कात्तिक २२ गते। सांस्कृतिक रूपमा धनी मानिएको नेवार समुदाय भित्र रहेको एक परम्परालाई तोडिएको कथाको रूपमा प्रस्तुत भएको चलचित्र प्रदर्शनीमा आएको छ। चलचित्रको नाम हो, ‘इन्दिरा धिमे मैंचा’। इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित ‘बायोपिक’ चलचित्र नेपाल भाषाको चलचित्रमा इन्दिरा लाछिमस्यूले नेवारी बाजा सिक्न का लागि गरेका  सङ्घर्षरत कथा देखाइएको छ। 

केटीले बाजा सिक्न र बजाउन प्रतिबन्धित जस्तो भएको समय उहाँले कसरी बाजा बजाउन सिके र आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी धिमे लगायत नेवारी बाजा बजाउने पहिलो महिला बने भन्ने कथा रहेको छ। नेपाल भाषाको चलचित्रमा महिलाले समाज परिवर्तनमा ठुलो भूमिका खेल्न सक्छ भन्ने देखाइएको छ।

करिब २९ वर्षअघि धिमे बाजा बजाउन सिकेर टोलमा हुने जात्रामा पुरुषसँग तालमा ताल मिलाएर हिँड्नुभएकी लाछिमस्यूको सङ्घर्षलाई चलचित्रको पर्दामा उतारिएको छ। 

सुरेन्द्र तुलाधरको निर्देशनमा निर्माण भएको चलचित्रमा रोजिना सुवाल, सिम्रिक श्रेष्ठ, रुपेन्द्र श्रेष्ठ, नगिना श्रेष्ठ, मदनकृष्ण श्रेष्ठले अभिनय गर्नुभएको छ।