• १३ असोज २०८१, आइतबार

संसदमा शीर्ष नेताहरूको प्रतिबद्धता : नेपालको विकास र समृद्धि

blog

निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु ।

काठमाडौं, पुस २५ गते । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेबाट प्रतिनिधिसभा बैठक सुरु भएको हो ।  नवनिर्वाचित प्रतिनिधिसभामा १२ राजनीतिक दलले प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४, जनता समाजवादी पार्टी (जसपा) नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक–एक तथा स्वतन्त्र तीन सांसद छन् ।

सार्वभौम संसद्ले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।  प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिनुभयो । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।”
उहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद् हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”

हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गर्नुभयो ।


जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्न, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको चर्चा गर्नुभयो ।

“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उहाँले थप्नुभयो, “सांस्कृतिक मूल्य मान्यता बिर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”


सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेकाले आवश्यक नीति र कानुन बनाउनुपर्ने पनि बताउनुभयो ।


जनताको विश्वासलाई खेर जान दिँदैनौँ : गृहमन्त्री लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सो कुरा बताउनुभएको हो । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उहाँले चर्चा गर्नुभयो । नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उहाँको भनाइ छ ।

जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्नेछौँ, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : नेता यादव
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादवले सङ्घीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र समावेशीलाई संस्थागत गरेर कार्यान्वयन गर्नु अहिलेको संसद्को जिम्मेवारी भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट सम्बोधन गर्नुहुँदै संसदीय दलका नेता यादवले सो कुरा बताउनुभएको हो । संविधान जारी भएको सात वर्ष भइसक्दा पनि संविधानमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनुभयो । प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकिएको उहाँले बताउनुभयो ।


राष्ट्रिय एकताको मुद्दामा राप्रपा दृढतापूर्वक उभिनेछ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले विचारभन्दामाथि देश रहने उल्लेख गर्दै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभा सांसद लिङ्देनले भन्नुभयो, “हामी सबैका लागि विचारभन्दा माथि मैले अघिल्लो दिनहरूमा पनि भन्ने गरेको छु– देश छ, त्योभन्दा माथि केही पनि छैन । मुलुकका यावत समस्याहरू सामूहिक रूपमा समाधान गर्ने दिशामा हामी अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एक्ता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढता साथ उभिनेछ ।”


गणतान्त्रिक व्यवस्थाप्रति मधेशी समुदाय प्रतिबद्ध : नेता राउत
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट सोमबार सम्बोधन गर्नुहुँदै अध्यक्ष राउतले सो कुरा बताउनुभएको हो । सङ्घीय गणतान्त्रिक व्यवस्थाका लागि आफूहरू सदैव लागिरहने उहाँले बताउनुभयो । लोकतान्त्रिक व्यवस्थाकै देनले धनाढ्यहरू सामान्य नागरिकको झुपडीमा गएर झुक्न बाध्य भइरहेको उहाँले बताउनुभयो ।

निर्वाचनबाटै जनताको नयाँ आवाज मुखरित भइरहेको उहाँले चर्चा गर्नुभयो । आगामी दिनमा नेपाल सरकार, दलका नेताहरूले दलको अधिकार सुनिश्चित गर्नमा लाग्न उहाँले आग्रह गर्नुभयो । नवनिर्वाचित सबै सांसदलाई उहाँले बधाई र कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


समृद्धिको बाटोमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ ।  साथै उहाँले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले महँगी, कालाबजारी, कृत्रिम अभावदेखि युवाहरू बेरोजगारीको चक्रमा पर्ने लगायत देशको सिङ्गो अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको पनि बताउनुभएको छ ।

“पाँच वर्षको कार्यकालमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा र नेपालीको स्वाभिमानलाई माथि उठाउनुपर्नेछ । समावेशिताको नीतिलाई व्यवहारमा राम्ररी कार्यान्वयन गर्नुपर्नेछ । समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेछ”, अध्यक्ष नेपालले भन्नुभयो ।


टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै उहाँले सो माग गर्नुभएको हो ।

पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गरेको बताउँदै अध्यक्ष चौधरीले त्यसअघि अरू राजनीतिक घटना भए पनि त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण भएको चर्चा गर्नुभयो । टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।


मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो ‘सङ्घीयता’ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना साबित भएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

सङ्घीयताले देशको विकासभन्दा दलका नेता, मन्त्री, सांसदको विकास गरेको चर्चा गर्दै अध्यक्ष केसीले देशको विकासका लागि सबै इमानदार नहुँदासम्म देश नबन्ने उहाँले बताउनुभयो । दलका नेताहरूको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो ।


विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल
प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।

नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्तावकै बेला नेमकिपाले प्रश्न उठाएको थियो । राजनीतिक सिद्वान्तवहीन पद र प्रतिष्ठामा होइन” किसानले समयमा सुपथ मूल्यमा रासायनिक मल नपाएको समस्या उहाँले सुनाउनुभयो ।